April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सहकारीप्रतिको विश्वसनीयता गुम्दै

-विनोद पौडेल

साधारणतया सहकारी भन्नाले सहकार्यका साथ अगाडि बढ्नाले कुनै पनि कार्य गर्न सम्भव छ भन्ने बुझाउँछ । विश्व इतिहास हेर्ने हो भने पनि १८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यतिर बेलायतमा औद्योगिक क्रान्ति चल्दै गरेको अवस्था थियो ।

Advertisement

पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके तापनि त्यो त्यति सफल हुन भने नसकिरहेको अवस्थामा बेलायतमा भने ढिला गरी १८ औं शताब्दीको मध्यतिर मात्र सुरु भएको क्रान्ति अन्ततः सफल हुन पुग्यो । यसको एउटै कारण थियो— संगठित मजदुर र कृषि क्रान्तिसँगै बढेको सहकारिता । जसका कारण क्रान्ति सफल भएको मान्न सकिन्छ ।

Advertisement

बचत तथा ऋण सहकारीका पिताको रूपमा चिनिएका रेफेइसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामीण जनतालाई शोषणबाट मुक्त गराएका थिए । सोही कारण आज पनि उनलाई विश्वभरका बचत तथा ऋण सहकारी संस्थाका पिता भनेर चिनिन्छ । यस्तै विश्व इतिहास बोकेको सहकारी संस्थाको अनुसरण गर्दै नेपालमा थुप्रै सहकारी संस्था दर्ता भएका छन् । वि.सं. २०१३ मा चितवनमा बखान सहकारी संस्था स्थापना भएसँगै नेपालमा सहकारी संस्था स्थापनाको श्रीगणेश भएको मानिन्छ ।

करिब ६६ वर्ष लामो इतिहास भोगेको सहकारी संस्थाले उतारचढाव भोग्दै यहाँसम्म आइपुग्दा नेपालमा सहकारी संस्थाको स्थापना संख्याका आधारमा लोभलाग्दो छ । फलस्वरूप चोकचोकका घरैपिच्छे सहकारी संस्था खुल्दै गइरहेका छन् । सहरका घरका तलैभरि सहकारी स्थापना भएका छन्, यो खुसीको कुरा हो । सहकारीको विस्तार सहर केन्द्रित मात्र छैनन्, यसको विस्तार वा शाखा विस्तार सहरदेखि गाउँगाउँसम्म विभिन्न प्रारूपमा सञ्चालन हुने गरेका छन् । यसरी खुलेका सहकारीको संख्या देशभरि झन्डै ३० हजारको हाराहारीमा छ ।

तर, सहकारीको विस्तारसँगै विश्वसनीयतामा समेत प्रश्नचिह्न खडा हुँदै आइरहेको छ । जुन विश्वास सहकारीप्रति थियो, आज त्यो विश्वास स्पष्ट गिर्दै गइरहेको सर्वविदितै छ । आम ग्राहकले सहकारी संस्थाप्रति गरेको विश्वास गुम्दै गइरहेको छ । सहकारी संस्थालाई कुनै समय विश्वास नगर्ने जमातै थिएन, तर पछिल्लो समय एकाध सहकारी संस्थाका गतिविधिका कारण विश्वास गर्ने त परको कुरा, सहकारीमा भएको निक्षेप निकाली सहकारी संस्थाभन्दा घर नै सुरक्षित भन्नेसम्मको अवस्था आइपरेको छ ।

सामान्यतया निम्न स्तरका कामकाजी मानिसले आफ्ना व्यापार–व्यवसाय वा रोजगारीबाट आफ्नो दैनिक खर्च छुट्ट्याएर भविष्य वा भवितव्यलाई मध्यनजर गरी केही रकम बचत गर्ने अभिप्रायले सहकारी संस्थामा आफ्नो खाता खोली निक्षेप गर्ने परिपाटी चल्दै आइरहेको छ । हामीले आर्जन गरेको रकमबाट बाँकी रहेको पैसालाई बचत गर्ने उपयुक्त माध्यम भनेकै सहकारी संस्था बनेको थियो ।

त्यति मात्र होइन, थोरै–थोरै रकम जम्मा गरेर परेको बेला गर्जो टार्न सहजता मिल्ने सहकारी संस्था एउटा गतिलो उदाहरण बनेको थियो । आममानिसका लागि बचतमात्र होइन, सहकारीबाट ब्याज तिरेर ऋण लिन पनि पाइन्थ्यो । सहकारीले सहज, सुलभ तरिका अपनाइरहँदा केही सहकारी सञ्चालकको बदमासीले आज सिंगो सहकारीको विश्वसनीयतामा आँच आइरहेको छ, जसका कारण सर्वसाधारणले दुःखले आर्जेर जम्मा गरेको बचत नै सहकारीबाट फिर्ता नपाउने अवस्था आउँदा सहकारीको विश्वास गिर्दै गएको छ । केही सहकारी संस्थाका गलत मनसाय वा भनौं खराब कर्जा प्रवाहले सहकारीमा पैसा नहुँदा बचतकर्ताले आफ्नो निक्षेप फिर्ता सहजै नपाउने अवस्थाले सहकारी संस्थाप्रतिको विश्वास घट्दो अवस्थामा छ ।

काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएको घटना सार्वजनिक भएपश्चात् सहकारीका खोल ओढी बसेकाको बदमासी एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । २५ हजार सदस्य रहेको गौतमश्रीका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भई पछि सम्पर्कमा आएपश्चात् निक्षेपकर्ताको बचत फिर्ता गर्ने तर ब्याज नपाइने सर्तमा घटना बिस्तारै सेलाउँदै गएको थियो ।

गौतमश्री सहकारी मात्र हाइन, त्यसअगाडि यस्ता घटना धेरै उजागर भइसकेका छन् । सिभिल सहकारीका तत्कालीन अध्यक्ष रहेका इच्छाराज तामाङले त निक्षेपकर्ताको रकम सहकारीबाट ३ अर्ब ३१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जेलजीवन बिताइरहेका छन् । सहकारी सञ्चालकका यस्ता गतिविधिले आज आममानिसमा सहकारीप्रतिको विश्वसनीयता गुम्दै गएको छ, जसका कारण सहकारीमा निक्षेप गर्नेभन्दा पनि निक्षेप रकम झिक्नेको संख्या बढ्दै गइरहेको छ ।

विडम्बना, बचत भएको रकम बचतकर्ताले सहजै फिर्ता पाउने अवस्था भने यतिबेला देखिँदैन । बचतकर्ताको दैनिकी सहकारी संस्था धाउनु बनेको छ । यस्तो अवस्था सिर्जना हुनु सिंगो अर्थतन्त्रमा नै नराम्रो असर पर्नुको संकेत मानिन्छ । आगामी दिनहरूमा सहकारी संस्थाप्रति थप विश्वास गर्ने आधार मासिँदै जाने खतरा बढेको छ । केही सहकारीले गर्दा विश्वासिला सहकारी संस्था झन् संकटमा परेको यति बेला सहकारीविद्हरूले बताउँदै आइरहेका छन् ।

राजधानी केन्द्रित यस्ता केही सहकारीको बदमासीका कारण अन्य सहकारी संस्था संकटमा पर्दै गइरहेका छन्, जसको असर जिल्ला–जिल्लाका, गाउँ–गाउँका सहकारी संस्थामा गरेको स्थानीयको विश्वास गुम्दै गइरहेको छ, जसको प्रत्यक्ष मारमा सहकारीका ग्राहकहरू पर्दै गइरहेका छन् । सहकारी संकटमा पर्दा सञ्चालक बेपत्ता हुने र कर्मचारीले पारिश्रमिक नपाउने अनि उता ग्राहकले आफ्नो बचत फिर्ता नपाउने अवस्था सिर्जना हुनाले सहकारीप्रतिको विश्वास गुम्दै गइरहेको छ ।

यस्तो हुनुमा सहकारी स्वयं जिम्मेवार रहेको विज्ञहरूले बताउँदै आएका छन् । सहकारी संघसंस्थाहरूले घरजग्गा, गाडी तथा यस्तै अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको विज्ञहरूले बताउँदै आइरहेका छन् । सहकारी संस्थाको पैसा अनुत्पादक क्षेत्रमा गएको तर सो पैसा सहकारीमा नै फिर्ता नहुँदा सहकारी सञ्चालनमा समस्या आएको छ । खराब कर्जा लगानी उठाउन सहकारी अभियानसमेत नतात्नु कारक मान्न सकिन्छ ।

यसो भनिरहँदा ती गरिबको श्रम पसिना जम्मा भएको सहकारी सजिलै उम्कन भने पाउनेछैनन् । एउटा व्यवस्थापनको टुंगो लगाउनुपर्ने अवस्था आएको छ । सहकारीका यस्ता हविगतले सबल रहेका अन्य सहकारी संस्थाबाट निक्षेपकर्ताले आफ्नो निक्षेप फिर्ता लिई बैंक जम्मा गर्नेको होडबाजी नै चलेको छ । यसले गर्दा सहकारी झन् संकटमा पर्ने स्पष्ट छ । सहकारीप्रतिको विश्वासलाई कायम राख्न समयमै यसका सरोकारवालाले ध्यान दिनु जरुरी छ । -karobardaily