December 10, 2024, Tuesday
२०८१ मंसिर २५

झाँक्री मन्त्रको मोहनीमा परेका मास्करिनेक

-डा.बामदेव सुवेदी

आफ्नो जीवनकै अमूल्य समय खर्चेर नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेकको नाम अग्रपंतीमा आउँछ। मास्करिनेक पहिला त पिसकोर स्वयंसेवककोरुपमा नेपालसँग र खासगरी जाजरकोटसँग जोडिन पुगे। पछि उनको विद्याबारिधी पनि जाजरकोटसंग जोडिन पुग्यो। नेपालमै गरेको अध्ययन अनुसन्धानका विषयबस्तु समेटेर विभिन्न लेख तथा पुस्तकहरु प्रकाशन गरे, अनि कुनै न कुनै हिंसावले आफ्नो अन्तिम समयसम्म उनी नेपालसंग जोडिरहे। अमेरिकाको हवाइ विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका मास्करिनेकलाई जुन १६, २०२२ मा क्यान्सरले लग्यो। आज मास्करिनेक यो संसारमा छैनन तर उनी आफ्नो कामले सदैव स्मरणीय रहनेछन्।

कसैकसैको जीन्दगीको कुनै कालखण्ड यस्तो भैदिन्छ जसले मान्छेको सिंगो जीवनलाई एउटा आकार दिने क्षमता राख्छ। मान्छेको जीवनमा परिवर्तन ल्याउने त्यस्ता केही मोडहरु हुने रहेछन्। जाजरकोटमा स्कूल शिक्षककोरुपमा केही वर्ष काम गर्नु मास्करिनेकको जीवनको त्यस्तै मोड बन्न पुग्यो। जाजरकोटमा रहंदाबस्दा उनलाई त्यहाँको  सामाजिक परिवेश, बोलीचाली, चालचलन, धर्मसंस्कृति, प्रथा परम्परा, खानपान, र स्वास्थ्योपचारका प्रचलनहरुमा चासो बढ्यो। अनि झाँक्रीहरुको मन्त्रले त मोहनी नै लगायो। उनमा विरामीहरुको उपचार गर्न प्रयोग हुने लामा लामा मन्त्रहरुको मौखिक पाठ झांक्रीहरुको मानसपटलमा कसरी बस्न सकेको होला अनि मन्त्रको अर्थ के होला भन्ने कौतहलता जाग्यो। रातीमा विरामीको उपचार गर्न बस्ने झाँक्रीले ढ्याङ्ग्रोको तालमा उच्चारण गर्ने यस्ता मन्त्रहरु कसरी मुखाग्र पारेको होला भनेर जो कोही पनि आश्चर्यमा पर्छ।

Advertisement

धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी नै झांक्री–मन्त्रहरुको गहिराईमा डुबेर मोती टिप्न सफल भए। मास्करिनेकका अनुसार झाँक्रीहरुका मन्त्र, शैली, विश्वास र अभ्यासलाई उनीहरुकै संसारको सन्दर्भमा मात्र बुझ्न सकिन्छ। झाँक्रीहरुले मन्त्रहरुको मौखिक पाठको माध्यमबाट आफ्नै संसार श्रृजना गर्छन्, अदृष्य शक्तिसंग वार्ता गर्छन्  र खल्बलिएको सामाजिक जगतमा एउटा सन्तुलन र व्यवस्था कायम गर्न मदत गर्छन्। 

झाँक्रीको उपचार गर्ने तरिका अझै पनि धेरैलाई रहस्यमय नै लाग्छ। ‘झाँक्रीहरुले के भन्छन् भन्ने थाहा नपाइकन उनीहरु को हुन् र के गर्छन भन्ने कुरा गर्नु व्यर्थ छ’। यस्तो भन्ने मास्करिनेकले बर्षौं लगाएर झांक्री–मन्त्रहरुको गहिरो अध्ययन गरे। अनि ‘रुलिङ अफ द नाइटः एन इथ्नोग्राफी अफ् नेपलीज शामन ओरल टेक्स्ट’ जस्तो उत्कृष्ट कृति लेखे जसका कारण उनलाई वीरेन्द्र प्रज्ञालंकारले समेत पुरस्कृत गरिएको थियो। पछि जाजरकोटमा संकलन गरेका झाँक्रीमन्त्रहरुलाई नेपालीमा र अंग्रेजीमा अनुवाद भएको द्विभाषी ग्रन्थ समेत प्रकाशन गरे। दुई भागमा प्रकाशित उक्त ग्रन्थको नाम पनि ‘नेपलीज शामन ओरल टेक्स्ट’ भन्ने रहेको छ। यस ग्रन्थमा उनले सार्वजनिकरुपमा उच्चारण गरिने मन्त्रका साथै व्यक्तिको कानमा फुसफुसाउने गोप्य मन्त्रहरुलाई समेत समेटेका छन्। उनको (सह)लेखनमा थुप्रै अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशन भएका छन्। चिकित्सा मानवशास्त्रको विश्वकोषमा पनि नेपालको झांक्री परम्पराका बारेमा उनको लेख पढ्न सकिन्छ। नेपालको जनस्वास्थ्यको सवालमा गहिरो चासो राख्ने मास्करिनेकले गोविन्द केसीको सत्याग्रहलाई पनि नियाली रहेका रहेछन भन्ने कुरा उनका लेखहरुबाट थाहा हुन्छ।

जाजरकोटमा मात्र होइन नेपालका विभिन्न जिल्लाहरुमा झाँक्रीहरुले मनोसामाजिक समस्या परेका व्यक्तिहरुको समस्याको निदान, उपचार तथा पुर्नस्थापनामा महत्वपूर्ण भूमिका निभाइरहेका छन्। र यसो गर्न उनीहरुलाई आवश्यक पर्ने मन्त्रहरु राम्रोसंग स्मरण गरेका हुन्छन्। मन्त्र भन्नाले दुष्टात्मा, प्रेतात्मा, बाइबोक्सी, भुतप्रेत, लागोभागो हटाउन वा झारफुक गर्न उच्चारण गरिने शव्द समूहलाई बुझ्न सकिन्छ। सार्वजनिकरुपमा उच्चारण गरिने मन्त्रहरु लयात्मक र बोधगम्य हुन्छन्। समस्याको लक्षण र कारणको व्याख्यमा तथा अपनाउने उपचार बिधि र प्रक्रियामा दक्ष हुन्छन्।  पण्डितले कर्मकाण्डका लिखित पुस्तकको सहाराले  ब्रतबन्ध, विवाह, मृत्यु संस्कार तथा श्राद्ध गराए जस्तो झाँक्रीले चाहीं मास्करिनेकले भनेजस्तो ओरल टेक्स्ट (मोखिक किताव) को सहाराले समस्याको निदान तथा उपचार गराउँछन्। उनीहरुले शुरु देखि अन्त सम्म गर्नु पर्ने बिधि कण्ठस्थै पारेका हुन्छन्। झाँक्री बन्न आवश्यक पर्ने मन्त्रज्ञान उनीहरुको अन्र्तमनमा रहेको हुन्छ। 

झांक्री परम्परा पुरानो परम्परा हो। मान्छेले अदृष्य शक्तिमाथि धेरै पहिले देखि नै विश्वास गर्दै आएको छ। ग्रहदशा, मोहनी, कपट, दुष्टात्मा, भुतप्रेत, बाइबोक्सी, लागोभागो, चोखे लाग्ने जस्ता अदृष्य कुरामा विश्वास गर्ने, त्यसको अर्थ लगाउने र  आवश्यक परेका बेला झाँक्रीले सुझाएको समाधान खोज्ने पुरानै प्रचलन हो। अझै पनि सपनामा जे देखेको छ ठ्याक्कै त्यस्तै हुने वा उल्टो हुने, बच्चाको सातो जाने, चोखे लाग्ने, ग्रहदशा विग्रने, मोहनी लाग्ने, भुतप्रेत लाग्ने जस्ता अदृष्य कुरामा जनविश्वास देखिन्छ। यस्ता कुराहरुको पारम्परिक हिंसावले अर्थलगाउने र समस्या देखिएमा ज्योतिस, पण्डित, लामा, गुरुवा, झारफुके तथा धामीझाँक्रीकोमा जाने चलन रहि खाएको छ।नेपाली शव्दकोषले झांक्रीलाई ‘तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने व्यक्ति’ भनेर परिभाषित गरेको छ। झाँक्रीहरुलाई मन्त्रोच्चारण गर्दै ढ्याङ्ग्रो बजाउने, काम्ने र चेतना बदलिएको अवस्थामा जाने, अलौकिक संसारमा यात्रा गर्ने तथा प्रेतात्मालाई नियन्त्रणमा राख्ने वा त्यसबाट मुक्ती दिलाउने व्यक्तिकोरुपमा पनि व्याख्या गर्ने गरिन्छ। गाउँ समुदायमा कुनै व्यक्तिले मन्त्रहरुमा दखल राख्छ र उ संग अलौकिक शक्ति छ भन्ने विश्वास भयो भने मात्र झाँक्रीको मान्यता पाउँछ। समुदायको विश्वास, सहयोग र उत्प्रेरणा विना कुनै व्यक्ति झांक्री बन्न सम्भव देखिंदैन।  

झाँक्रीहरुको मन्त्रमा विरामीलाई संचो बनाउन सक्ने के त्यस्तो शक्ति होला भन्ने कुरा चाहीं अझै पनि रहस्यको विषय बन्ने गरेको छ। आजभोली झाँक्रीविद्याको अध्ययन अनुसन्धान गर्ने संस्थाहरु स्थापना भएका छन्। झाँक्रीसंग सम्बन्धित अनुसन्धानमूलक लेखहरु छाप्ने छुट्टै जर्नलहरु पनि छन्। अनि बेलाबेलामा झाँक्रीबिद्या तथा उपचार बिधिसंग सम्बन्धित अन्र्तराष्ट्रिय सेमिनार तथा सम्मेलनको आयोजान हुँदै आएको छ। 

यहाँ स्मरणीय के छ भने मान्छेमा कुनै रोग छ वा छैन भन्ने कुरा प्रयोगशालामा जाँचेर पत्ता लाग्न सक्दछ तर अस्वस्थता अनुभव गर्ने कुरा चाहीं मान्छेको व्यक्तिगत कुरा हो। मान्छेलाई रोग लागेमा वा नलागेको अवस्थामा पनि अस्वस्थताको अनुभव हुन सक्दछ। उदाहरणको लागि एचआइभी संक्रमण भएको तर कुनै लक्षण नदेखिएको अवस्थामा पनि प्रयोगशालामा जाँच्दा मान्छेलाई संक्रमण भएको वा रोग लागेको पत्ता लाग्न सक्छ तर यस अवस्थामा मान्छेले अस्वस्थ अनुभव गर्छ भन्ने छैन।

त्यस्तै कहिलेकाहीं मान्छेले अस्वस्थ अथवा विरामी भएको अनुभव गर्छ तर जाँच्दा रोग केही पनि भेटिंदैन। यसरी हेर्दा विरामी हुनु र रोगी हुनुमा भिन्नता देखिन्छ।  बिरामी हुने कुरा व्यक्तिले अनुभव गर्ने कुरा हो भने रोगी भएको कुरा चाहीं डाक्टरले पत्ता लगाउने कुरा हो। झाँक्रीहरुको भूमिका  अस्वस्थ अनुभव गर्ने विरामीलाई पहिलाको जस्तै स्वस्थ अनुभव गर्न सक्ने अवस्थामा ल्याउन मदत गर्ने हो। यो हिंसावले हेर्दा धामीझाँक्रीहरुको बिशेषज्ञता रोगीलाई भन्दा पनि बिरामीलाई स्वस्थ बनाउन मदत गर्ने किसिमको देखिन्छ। प्रायः मान्छेले सातो गएको, डर लागेको, निद्रा नलागेको, सपना विग्रेको, आँखा लागेको, ग्रह परेको, लागुभागु लागेको, वायुले छोएको, आत्मा भौंतारिएको, कुल, पितृ, देवी देउता रिसाएको अवस्थामा झाँक्रीको सेवा लिन्छन्।

धामीझाँक्रीहरुको उपचार बिधिमा ज्ञानिक तार्किकता नदेखेपछि यसलाई अन्धविश्वास भनेर व्याख्या गर्ने चलन पनि छ। तर यहाँ के स्मरणीय छ भने, धामीझाँक्रीहरुले पनि परम्परागत जडिबुटीको प्रयोग गर्ने, मालिस गर्ने, स्नान गराउने, हातले थपथपाउने, तातोले सेक्ने, मन्त्रले फुकेको वेसार पानी पिउन दिने जस्ता क्रियाकलाप गर्ने हुँदा सम्पूर्ण हिंसावले अन्धविश्वास भनिहाल्न भने सकिंदैन। ढ्याङ्ग्रोको धुनमा लयात्मक किसिमले गरिने मन्त्रोच्चारणले मान्छेलाई मन्त्रमुग्ध पार्ने मात्र होइन, विरामी आफै उठेर झाँक्रीसंग नाच्ने कुरा चाहीं रहस्यपूर्ण लाग्छ, तर यसलाइ पनि निरर्थक भनिहाल्न सकिंदैन। आधुनिक चिकित्सा विज्ञानको नजरमा अर्थहिन, अवैज्ञानिक वा अन्धविश्वास लागेपनि झाँक्री उपचार सेवा लिनेहरुको नजरमा चाहीं उनीहरुको उपचार बिधि पनि उत्तिकै अर्थपूर्ण र वैज्ञानिक लाग्दो हो। कमसेकम मान्छेमा आत्मविश्वास बढाउन, पारिवारिक तथा सामुदायिक जीवनमा सन्तुलन ल्याउन तथा मनोसामाजिक स्वास्थ्यमा झाँक्रीहरुको भूमिका सहयोगी नै रहेको ठानिन्छ। झाँक्रीहरुले दिने जस्तो स्वास्थ्य सेवा चिकित्सकहरुले दिन नसक्ने हुँदा पनि उनीहरुको आवश्यकता र सान्दर्भिकता देखिन्छ। 

एकातर्फ, बोक्सीको आरोपमा महिलामाथि हुने हिंसामा प्रायः धामीझाँक्रीको भूमिका माथि प्रश्न उठ्ने गरेको अवस्था छ। उनीहरुमाथि अन्धविश्वास र सामाजिक कुरीतिलाई प्रश्रय दिएको आरोप पनि छ।  बेलाबेलामा गलत उपचारका कारण मान्छेको ज्यानै गएको समाचार पनि सुन्नमा आउँछ। अर्कोतर्फ, धामीझाँक्रीहरु पनि सामाजिक विभेद अन्त गर्ने अभियानमा जोडिएको, छाउपडी उन्मुलनमा साथ दिएको, विरामीलाई स्वास्थ्यसंस्थामा जान प्रेरित गरेको र उनीहरु स्वास्थ्य संस्थासंग जोडिंदा सफल उपचार दरमा मदत पुगेको दृष्टान्तहरु पनि छन् । आज समग्र लोक चिकित्सा पद्धतिकै आलोचना हुने गरेको अवस्थामा झाँक्रीहरुको उपचार बिधिलाई आलोचनामुक्त बनाउन थप प्रयासको खाँचो चाहीं देखिन्छ। 

झांक्री परम्परा अहिले सांस्कृतिक परम्पराकारुपमा संसारका विभिन्न भागहरुमा पुनः देखा पर्दैछ। दक्षिण कोरिया, चिन, अमेरिका लगायतका विभिन्न स्थानमा झाँक्री परम्परा पुरै मुर्झाएको थियो। कतिपय देशमा त प्रतिबन्ध समेत लागेको थियो। तर अहिले उक्त परम्परालाई फेरी जोगाउन खोजिएको छ । झाँक्री परम्परालाई मनोसामाजिक स्वास्थ्यमा योगदान पु¥याउन सक्ने एउटा उपचार बिधिकारुपमा मात्र नभएर सांस्कृतिक पहिचानको अभिव्यक्तिकोरुपमा समेत प्रस्तुत गर्न खोजिएको छ। हामीकहाँ पनि विभिन्न सांस्कृतिक तथा पर्यटन महोत्सव हुँदा निकालिने झाँकीेहरुमा रौनकता थप्न झाँक्रीहरुलाई पनि सहभागी गराउने गरिएको छ। 

सांस्कृतिकरुपले उपयुक्त मनोसामाजिक स्वास्थ्यमा झाँक्री परम्पराको महत्व छ। कतिपय विद्वानहरुले मनोसामाजिक परामर्शमा झाँक्रीका उपचार बिधिहरुलाई समेत समेट्नु पर्ने आवश्यकता औंल्याएका छन्। त्यसमाथि शारीरिक र मनोसामाजिक स्वास्थ्यबीचको अन्र्तसम्बन्ध एवं उपचारमा संवेगात्मक र आध्यात्मिक आयामको महत्व तथा संसारभर झाँक्रीजन्य उपचार बिधिहरुको पुर्नरुत्थान एवं निरन्तरतालाई दृष्टिगत गर्दा झाँक्री परम्परालाई कम आँक्न सकिंदैन। अहिले झाँक्रीहरुलाई पनि स्वास्थ्य सेवा प्रणालीमा जोड्नु पर्छ भन्ने मत बलियो बन्दै छ। अनि झाँक्री परम्परा पनि संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो र यसले पनि साँस्कृतिक परम्पराकारुपमा बाँच्न पाउनु पर्दछ भन्ने मत पनि बलियो बन्दैछ। झाँक्री परम्परा समुदायको स्वास्थ्यसंग मात्र नभएर पहिचानसंग पनि जोढिएको देख्न सकिन्छ।  

मास्करिनेक जस्ता पश्चिमा विद्वानहरुले झाँक्रीहरुको मन्त्रको महत्व देखे। यसकै अध्ययनमा जीवन सर्मपण गरे तर हामी भने आफ्नै समुदायमा रहेको जीवित परम्परालाई मृत देख्न लालायित छौं। आफ्नो पहिचानलाई अन्धविश्वासको पट्टी बाँधेर विज्ञानको तरवारले काट्न लागि परेका छौं। यहाँ झांक्री उपचारको परम्पराभित्रका कुरीतिलाई आँखा चिम्लनु पर्छ भनेर किमार्थ भन्न खोजिएको होइन। तर झाँक्री उपचारका सवै क्रियाकलापहरुलाई सोलोडोलोरुपमा अन्धविश्वास भन्दै निस्तेज गर्ने जुन प्रवृत्ति देखिएको छ त्यो चाहीं विवेकसम्मत देखिंदैन। -swasthayakhabar