May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

समय सन्देश दिने मतदान भोलि

कुलचन्द्र वाग्ले

भोलि मतदान हुने स्थानीय तहको निर्वाचन दोस्रो हो । नेपाली नागरिकले धेरै प्रकारका मतदानमा भाग लिएका छन् । अनेक शैली र स्वरुपका चुनावमा सहभागी भएका छन् । विसं २०७२ मा घोषित संघीय लोकतान्त्रिक संविधानले निर्धारण गरेको विधिअनुसार स्थानीय तहको लागि भोलि हुने मतदान भने दोस्रो विशेष चुनावी कार्यक्रम हो । 

Advertisement

पाँच वर्षअघि यस्तै मतदान भएको थियो । त्यतिबेलाका धेरै मतदाता भोलि पनि मत दिन लाममा बस्ने छन् । नयाँ मतदाता पनि थपिएका छन् । यही समयबीच केही मतदाता एउटा बाटो देखाएर सदाको लागि बिदा भएका छन् । यसबीच विश्वले बेहोर्नु परेको कोरोना देसान (महामारी) ले पुर्याएको असामयिक मानवीय क्षति यही समय वीचको दुःखद विगत हो । 

दुःखद सम्झनालाई पुनः उधिनेर विह्वल विगतलाई श्रद्धाञ्जलि (शुभभाव, अशुभभाव दुवै प्रकारको)  दिने एउटा पाटो होला तर त्यही विगतले स्थापित गरेको मानक पनि यही समाजको उपलब्धि हो । विगतले सधैँ केही न केही छाप छोडेकै हुन्छ – सुखद, दुःखद । समाजमा महत्त्व राख्ने छाप नै इतिहास हो रे !

त्यस्तै छाप राजनीतिमा विगतले राखेको छ । लामो विगत होइन, पाँच वर्षअघिको सम्झना हो । यो समयले नेपालका मान्छेलाई राजनीतिक माध्यमले केही दियो कि ? स्थानीय तह भनिएका संरचनाहरुले समाजमा केही योगदान स्थापित गरे कि ? समीक्षा हुने विगत समय र परिघटनाकै हो । आज हामी त्यही समीक्षाको आआफ्नै अनुभूति सँगालेर मत दिन लामबद्ध छौँ । 

मतदान किन भनिएको होला ? यसको मर्म र धर्म पनि होला । मत विचार नै हो, समर्थन हो । हाम्रो समर्थन र विचार विगत चुनावमा कसरी अभिव्यक्त भएका छन् ? त्यसको पनि मूल्यांकन गर्ने बेला हो अहिले । जब हामी मत दिन लामबद्ध छौँ, सोचौँ विगतमा दिएको मेरो मतले ल्याएको परिणाम के हो, त्यसले कस्तो मानक स्थापित गर्यो ?

भन्छन्– आवधिक निर्वाचन प्रजातन्त्रको आधारशीला हो । निश्चय पनि हो तर सबै आवधिक निर्वाचन प्रजातन्त्रको आधार हुँदैनन् र पनि चुनावी प्रक्रिया मतदातालाई केही न केही बोध गराउने समय चाहिँं हो । प्रजातान्त्रिक हुन त प्रक्रिया पनि त्यसै किसिमको चाहियो । मतको नाममा मतपत्र कुनै सत्ताधारीले बाकसमा एकमुष्ट खसाइदिने र त्यही गन्ने प्रक्रिया प्रजातान्त्रिक चुनाव होइन, सत्ता सिर्जित दमन निर्मित अधिनायकवादी चुन्ने निरन्तरता हो । दुनियाँमा यस्तो गरिएको थुप्रै इतिहास छ, अझै पनि त यस्तो हुने, गर्ने देशहरु यही दुनियाँमा छन् ।

हामी नेपाली भोलि सहभागी हुने चुनावी मतदान संविधानले निर्दिष्ट गरेको प्रजातान्त्रिक प्रक्रियाअन्तर्गत हो । पाँच वर्षभित्र हामी मुख्यतः तीनओटा चुनावका भागिदार हुन्छौँ । स्थानीय, प्रादेशिक र संघीय चुनावमा हाम्रो मत हिस्सा रहन्छ । भोलि यहीअन्तर्गत स्थानीय तहको निर्वाचनमा हाम्रो सहभागिता रहनेछ – प्रत्यक्ष मत सहभागिता । 

बुझाइ आआफ्नो । कसैले चुनावमा मत दिएर ‘मान्छे’ चुनेको बुझ्ला । कसैले नेता छानेको त कसैले प्रजातान्त्रिक अभ्यासमा समयको थप एक इटा थपेको गौरव गर्ला । 

चुनिनेका पनि त यस्तै केही धारणा बन्लान् । कसैले आफूलाई नेता भएको वा ठूलोठालु भएको मान्ला । चुनिने कसैले आफूलाई स्थानीय जनसेवक सोच्ला र राज्य, सरकार हुनुको दायित्व निर्वाह गर्ला । समाजका हर व्यक्तिलाई राज्यमा मेरो पहुँच छ भन्ने अनुभूति देला, ढाडस देला । 

हिजो के दिए ? हामीले कस्तो समय सन्देश स्थापित गर्यौँ ? कस्ता जनसेवक रोज्यौँ वा स्थानीय सरकार बनायौँ ? यस्तै सोच्दै आज लामबद्ध हुने हो आफ्नो मत दिन । मत कति गहन र इज्जतदार शब्दसन्देश ? तर हाम्रो मत कसरी, कति सदुपयोग भएको छ ? यो पनि त सोच्ने बेला होला ? 

कमजोरीहरुमा मात्रै ध्यान दिइयो वा यसैलाई मात्र उधिनियो भने सकारात्मक वा सबल पक्ष ओझेलमा पर्न जान्छ । कमजोरी उधिनिएन भने सुधारको पाटो के र कहाँ छ भन्ने पहिचान गर्न सकिँदैन । सुधारको बाटो समात्न कमजोरी पहिचान पहिलो सर्त हो । 

चुन्ने, चुनिने दुवैतिरबाट विगतमा थुप्रै कमोजोरी भएका छन् । ती कमजोरीलाई मत दिने र लिनेले सुधार गर्ने समय सन्देश पनि आवधिक निर्वाचन हो । भन्नेका थिए – ‘सिंहदरबारको अधिकार गाउँठाउँमा पुर्याउने तर पुग्यो त्यो दरबारको भ्रष्टाचार, विकृति र एकीकृत स्वेच्छाचार’ । पुगेको यही र यस्तैमात्रै पनि त होइन होला । हेरौँ त धेरै चिज देखिन सक्छ । 

हो, के भयो, के गरियो ? यही पहिचान र यसबीचका सबल वा सुन्दर उपलब्धिको लेखाजोखा गर्दै मत लिने, दिने दुवैपक्ष समालिने चुनावी सन्देश हो । चुनाव एक दिन लाममा बस्यो, मत दियो सकियो होइन । पाँच वर्ष हामी मतदाताले हाम्रो अधिकार कुनै उम्मेदवारलाई प्रयोग गर्न, समाजको सेवा गर्न दिएको हो । निश्चित अवधि पाँच वर्षसम्म पर्खी रहनु र पछुताउनु हाम्रै मत परिणाम हो । अरुलाई दोष दिनुअघि । 

विगत स्थानीय तह नेतृत्वले गरेको राम्रो काम र खराब व्यवहारको अनुभूति आआफ्नो ठाउँमा सबैले गरेका होलान् । मत लिएर स्थानीय राज्यसत्ता चलाउन पुगेकाहरुले मैले कस्तो काम गरेँ र यसबीच आफ्नो सामाजिक योगदान कस्तो रह्यो ? त्यो पनि त स्वयं समीक्षा गर्ने होलान् । 

जस, अपजस कसले लिने ? मत दिनेले कि, लिनेले ? वा उम्मेदवारीको टिकट दिने कथित समूह वा राजनीतिक दलले ? सोलोडोलो दोषी को ? कोही एक होइन, गलत छ र भएको हो भने दोषभागी सबै । राम्रो गर्यो भने पनि जसभागी सबै । ती मत दिने, टिकट दिने, मत वा पाँचवर्ष स्थानीय नागरिकको काम गर्ने जिम्मा माग्ने, लिने सबै भागिदार । 

प्रजातन्त्रको मार्गमा भोलि शुक्रबार (२०७९ वैशाख ३०गते) नागरिकको जगमा एउटा महत्त्वपूर्ण इटा थपिनेछ, थप आयाम जोडिनेछ । यो इतिहास निर्माणको घडी पनि हो । समयको स्मृति नै इतिहास हो । कस्तो इतिहास लेख्ने वा प्रजातन्त्रमा कस्तो आयाम थप्ने आगे मतदाताकै सामूहिक निर्णय ! baarhkhari