April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कोरोना प्रभावले २० वर्ष पछाडि धकलियो क्षयरोग कार्यक्रम

– राजेश कुमार यादव

क्षयरोग र कोरोना दुवै सरुवा रोगहरु भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यतिmमा सजिलै सर्न सक्छन्। कोरोना महामारीले गर्दा क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपलिँदै चुनौतिपुर्ण परिस्थिति सिर्जना गरको छ। 

Advertisement

क्षयरोगको वर्तमान अवस्था
नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएको अनुमान गरिएको छ। “राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्भे-२०१९” को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या ६९ हजार देखिन्छ। नेपालमा प्रति एक लाख जनसंख्यामा ४१६ क्षयरोगका बिरामीहरु छन्। आर्थिक वर्ष २०७६/७७ मा कुल २७ हजार ७४५ क्षयरोगका बिरामीहरु उपचारमा थिए। नेपालमा प्रत्येक दिन ४७ जनाको क्षयरोगबाट मुत्यु हुने गरेको अनुमान गरिएको छ। 

Advertisement

कोरोनाको वर्तमान अवस्था
नेपालमा पहिलो कोरोना पोजेटिभको केस मिति २०७६ माघ १० गते पहिचान भएको थियो भने मिति हिजो बिहीबारसम्म कोरोना संक्रमितहरुको संख्या ८ लाख २० हजार २८५ पुगेको छ जसमध्ये ११ हजार५१६ जनाको मुत्यु भइसकेको छ। 

नेपालमा औषधि प्रतिरोध क्षयरोगका ४० प्रतिशत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

क्षयरोग कार्यक्रममा कोरोनाको प्रभाव
–    क्षयरोगी बिरामीको संख्याः नेपलमा स्वास्थ्यको कार्यक्रमहरु मध्य सबैभन्दा बढी क्षयरोग कार्यक्रममा प्रभाव परेको देखिन्छ। राष्ट्रिय क्षयरोग केन्द्रको आव २०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार ३२,०४३ क्षयरोगी बिरामीको संख्या थियो भने आव २०७६/७७ मा २७,७४५ मात्र क्षयरोगीको संख्या पत्ता लागेको थियो र तुलनातमक रुपले यो संख्या हेर्दा २० वर्ष भन्दाकै कम क्षयरोगी बिरामी पत्ता लागेको अवस्था हो। स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन आव २०५७/५८ अनुसार ३०,२७५ क्षयरोगका बिरामीहरुलाई औषधिको दयरा भित्र ल्याउन सफल भएको थियो।

–    क्षयरोग पत्ता लगाउने दर (केस नोटिफिकेसन दर): राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्भे-२०१९ अनुसार प्रति एक लाखमा २४५ पत्ता लगाउनु पर्ने तर कोभिड महामारीले त्यो लक्ष्य हासिल गर्न ठूलो चुनौती नै थपेको छ। राष्ट्रिय क्षयरोग केन्द्रको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार प्रति एक लाख जनसंख्यामा १०९ क्षयरोका बिरामी पत्ता लागेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा एक लाख जनसंख्यामा ९३ क्षयरोका बिरामी पत्ता लागेको छ।

–    क्षयरोगको उपचार सफलता दरः कोरोना महामारीले नेपालमा पनि लामो समय लकडाउन लागेको थियो जुन क्षयरोग बिरामीको उपचार सफलता दरमा पनि प्रभाव पारेको देखिन्छ। लकडउनले गर्दा कति स्वास्थ्य संस्थामा समयमै औषधि आपूर्ति नहुनु र क्षयरोगी बिरामी पनि डट्स केन्द्रसम्म पुग्न नसक्नाले क्षयरोगको उपचार सफलता दर घटेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ मा ९०.८४ प्रतिशत थियो भने २०७६/७७ मा ८९.४३ प्रतिशतमा आइपुगेको छ।

क्षयरोग अन्त्यको लक्ष्य समयमै हासिल गर्न चुनौती नै चुनौती
विश्व स्वास्थ्य संगठनले क्षयरोग अन्त्यको रणनीति सन २०१६ देखी २०३५ सम्म लिएको छ। क्षयरोग अन्त्यको रणनीतिले मुख्यगरी तीनवटा लक्ष्य लिएको छ। पहिलो लक्ष्यः सन २०१५ को तुलनामा क्षयरोगबाट हुने मुत्यु दर ९५ प्रतिशतले कम गर्ने तर हाल पनि नेपालमा प्रति दिन ४७ जनाको मुत्यु हुने अनुमान गरेको छ।  दोस्रो लक्ष्यः क्षयरोगका नयाँ बिरामी हुने दर ९० प्रतिशतले घटाउने तर नेपालमा नयाँ क्षयरोगी बिरामी पत्ता लगाउने संख्यानै कम भएको हुनाले नेपालमा अहिले कम्तिमा ६९ हजार क्षयरोगी बिरामी पत्ता लगाउनु पर्ने देखिन्छ। तेस्रो लक्ष्यः क्षयरोगका कारणले परिवारमा पर्ने खर्च भार शून्य पार्ने लक्ष्य राखेको छ तर नेपालमा क्षयरोगका कारणले परिवारमा पर्ने खर्च भार शून्य पार्ने कुनै तथ्याङ्क नै देखिँदैन। त्यसकारण यस लक्ष्यको पहिलो प्रारम्भिक तथ्याङ्क संक्लन गर्नुनै आफैंमा नेपालको लागी ठूलो चुनौतीनै देखिन्छ। विश्व स्वास्थ्य संगठनले क्षयरोग अन्त्यको लक्ष्य हासिल गर्न कोभिड महामारीले गर्दा नेपालमा क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न कागजमा मात्र सीमित हुने सम्भावना देखिन्छ।

कोभिड महामारीले गर्दा प्रभाव परेका क्षयरोग कार्यक्रमलाई हासिल गर्ने उपायहरु 
–    क्षयरोगको नयाँ उपचार पद्धति, रेजिमेनबारे स्वास्थ्यकर्मीलाई तालिम, अभिमुखिकरण कार्यक्रम, अनसाइट कोचिङद्वारा जानकारी गराउने।

–    नेपालमा संघीयतामा आइसकेपछि स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा नयाँ स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी भएको हुनाले नयाँ स्वास्थ्यकर्मीलाई आधारभूत टिबी मोडुलर तालिमको संख्यालाई जिल्लामा बढाउने र छिटोभन्दा छिटो स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्ने।

–    क्षयरोग कार्यक्रमको तथ्याङ्कको सहि अभिलेख गर्ने र सहि प्रतिवेदन राष्ट्रिय क्षयरोग केन्द्रको सुचना प्रणालिमा प्रस्तुत गर्ने। समय समयमा स्थानीय तह, प्रदेश तह र संघमा तथ्याङ्कको (अभिलेख तथा प्रतिवेदन) गुण्स्तरीय माथि पर्याप्त समय दिई सहि विश्लेषण गर्ने।

–    सक्रिय क्षयरोगी बिरामी पत्ता लगाउने कार्यक्रमलाई देशको ७७ जिल्लमा लागू गर्ने र लुकेको क्षयरोगी बिरामीहरु पत्ता लगाउने।

–    कार्यक्रम र रणनीतिहरुलाई स्थानीय तह, प्रदेश तह र संघमा समय, भुगोल अनुकुल अनुसार परिमार्जन गर्ने र क्षयरोग अन्त्यको लक्ष्यलाई हासिल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग कार्यक्रमलाई पर्याप्त अनुदान दिनु पर्ने।

–    निजी स्वास्थ्य संस्थालाई क्षयरोग कार्यक्रममा जोड्ने र सहि क्षयरोगी बिरामीहरुको अभिलेख तथा प्रतिवेदन राष्ट्रिय क्षयरोग कार्यक्रममा ल्याउनु पर्ने।

–    क्षयरोग जाँच गर्ने प्रयोशालामा केमिकल, जिन एकसपर्ट केन्द्रहरुमा आवश्यक सामाग्रीहरु तथा काटिज, आवश्यक रजिस्टर र औषधि समयमै आपूर्ति गर्ने।

–    क्षयरोग कार्यक्रम हेर्ने प्रदेश तहमा, जिल्लामा र प्रत्येक स्थानीय तहमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने।

–    अनुसन्धानमा आधारित कार्यक्रमलाई समुदाय स्तरमा लागू गर्ने र नयाँ क्षयरोग पत्ता लगाउने उपकरणद्वारा शंकास्पद क्षयरोगका बिरामीलाई छिटो भन्दा छिटो क्षयरोगको निदान गर्ने।

–    सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुबीच प्रभावकारी समन्वय कायम गरी देखापरेका समस्या समधान गर्ने।

कोभिडको कारणले क्षयरोग कार्यक्रममा परेको प्रभावलाई हासिल गर्न नयाँ अनुसन्धानमा अधारित कार्यक्रमलाई राष्ट्रिय क्षयरोग केन्द्रले आत्मासाथ गर्न, आर्थिक सहयोग नजुटाएमा र दक्ष स्वास्थ्यकर्मीका व्यवस्था हुन सकेको खण्डमा विश्व स्वास्थ्य संगठनको क्षयरोगमुक्त विश्व बनाउने परिकल्पना अनि राष्ट्रिय क्षयरोग केन्द्रले लिएको आवधिक लक्ष्य पूरा गर्न सम्भावना देखिन्छ नभए कागजमा मात्र सीमित हुने सम्भावना देखिन्छ। 

(यादव जनस्वास्थ्यकर्मी हुन्) swasthyakhabara