December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

नेता र कार्यकर्ताको दायित्व

जीवन्त वाग्ले

अधिकांश ठूला दलका सबै प्रमुख नेता पटकपटक सरकार र दलको प्रमुख भइसकेका छन् । ती सबै नेता करिबन ७० वर्षको हाराहारीमा भएकाले नेतृत्वमा प्रगति र परिवर्तन हुने सम्भावना पनि देखिदैन । प्रस्तुति र कार्यशैली त यसै पनि उच्चाट लाग्दो नै छ । 

Advertisement

दलका कार्यकर्ता भने नेतृत्वको शैली र प्रस्तुतिको कमजोरीको बेवास्ता गर्दै पुरानै नेतृत्वले निरन्तरता पाउने वातावरण बनाउन तल्लीन देखिन्छ्न । दुईपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली पुन: नेकपा (एमाले) पार्टीको अध्यक्ष हुने निश्चित प्रायः छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दशकभन्दा बढी समय आफ्नो दलको नेतृत्व गरिरहेका छन । उनले नेतृत्व गरेको राजनीतिक दलका नेता कार्यकर्ताले पनि नेतृत्वप्रति विमति राख्न सकेका छैनन् । 

नयाँ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल करिब १७ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व गरिसकेका व्यक्ति हुन् । नवगठित दलको पनि उनै अध्यक्ष बनेका छन् । 

दुई पटक दलको नेतत्व गरेर प्रधानमन्त्रीसमेत बनिसकेका झलनाथ खनाल, डा बाबुराम भट्टराईलगायत मधेसी दलका नेताको शैली र पदलोलुपता पनि अरूको भन्दा कम छैन । 

पाँचौंपटक प्रधानमन्त्री भएका र पार्टी सभापति भइसकेका नेपाली कांग्रेसका शेरबहादुर देउवा पनि विगत लामो समयदेखि नेतृत्वमै छन् । उनको निराशाजनक प्रस्तुति शैलीप्रति दलका बहुसंख्यक कार्यकर्ता अनभिज्ञ पनि छैनन् । तैपनि उनी पुनः पार्टी सभापति बन्न अग्रसर भएका छन् भने कार्यकर्ताहरू उनको महत्त्वाकांक्षा पूरा गर्न कम्मर कसेर लागेका छन् । 

यसरी पटकपटक नेतृत्व गरेका सबै दलका नेतामा नेतामा हुनुपर्ने गुण भने शून्य प्रायः छ । तर, तिनका कृपापात्र कार्यकर्ता भने तिनैको देवत्वकरणमा रमाइरहेका छन् । 

दक्षिण एसियामा केही अपवादबाहेक अधिकांश मुलुकमा राजनीतिक दल,  नेतृत्व र कार्यकर्ताहरूको शैली, संस्कार र अवस्था समान देखिन्छ । विकशित देशमा राजनीतिक, आर्थिक, सामाजिकलगायत जनजीविकाको सवालमा उन्नत व्यवस्था छ ।

फलस्वरूप, राजनीतिक नेतृत्वमा पद ओगटेर बस्ने प्रवृत्ति छैन । नेपालजस्तै उही व्यक्ति एउटै पदमा दोहोरिइरहने बेथिति अन्य देशमा देखिँदैन । 

लोकतन्त्रको पुनःस्थापनापछि जनताले धेरै आशा अपेक्षा गरेका भए पनि उही अनुहार र प्रवृत्ति दोहोरिँदा जनतामा निराशा बढ्दै गएको हो । यस्तै प्रवृत्ति र शैली कायम रहने हो भने व्यवस्था प्रति नै अनास्था उत्पन्न हुनसक्छ ।

राजनीतिक दलका कार्यकर्ताले नेतृत्वको गलत र दिशाहीन कार्यशैलीविरुद्धमा सार्थक आवाज उठाउन नसक्नु, दलगत भागबन्डामा रमाउनु, दलका प्रमुख नेताको निकटता र चाकरीमा मग्न हुनु, गलत प्रवृत्तिविरुद्ध आवाज उठाउँदा पदनै धरापमा पर्ने डरले पिरोलिनु र गलत अभ्यासकै दास बन्दै आउनुले गर्दा राजनीतिक दल, नेता र कार्यकर्ता सबै समान दोषभागी भएका हुन् । 

शीर्ष नेतृत्वको देवत्वकरण गर्न छाडेर दलका नेता कार्यकर्ता राजनीतिक शुद्धीकरणको अभियानमा लाग्नु आजको आवश्यकता हो । वर्तमान बेथितिको आत्मसात गरेर राजनीतिक दलका नेता र कार्यकर्ता सबैले महाधिवेशनमा नेतृत्व चयन गर्दा लोकतान्त्रिक पद्धतिअनुरूप परिवर्तन र सुधारका लागि सङ्कल्प गर्नु जरुरी देखिन्छ । (अधिवक्ता) baarakhari