December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

हैजा रोग- सचेतना र समाधान

डा. पल्लवी कोइराला

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ ले मानवजातीलाई यति आक्रान्त बनाइसकेको छ कि हामी  त्यो भन्दापनि जोखिमपूर्ण रोगहरुलाई पनि बेवास्ता गर्न थालिसकेका छौं।  त्यसैको सानो प्रतिनिधि दृष्टान्त हो- करिब एक महिना अगाडि नेपालको पश्चिमी तराईको कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको हैजाको प्रकोप।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना अनुसार त्यहाँ हजारौं मानिसहरु यो रोगबाट संक्रमित भए भने कैयौंको ज्यान पनि गयो। नेपालमा केहि दिन अगाडि मात्र हैजाको ओरल कलेरा भ्याक्सिन नेपाल आइपुगेको छ जसले मृत्यु दर घट्नुका साथसाथै  समाजमा ठूलो राहत प्रदान गर्ने छ। 

Advertisement

विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको उक्त खोप युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो। २१औं शताब्दीमा पनि झाडापखालाको रोगबाट मृत्यु भएको देख्नु अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो। सुरक्षित पिउने पानी र उचित सरसफाइ पूर्वाधारको अभाव भएका धेरै असुरक्षित बस्ती र  बिपन्न वर्गहरुमा हैजा एक प्रमुख हत्याराको रूपमा रहेको पाइन्छ। 

हैजा भनेको दुषित पानी पिउदा वा दुषित खाना खाँदा ब्याक्टेरियाबाट सर्ने रोग हो। गम्भीर हैजालाई ठूलो मात्रामा पानीको पखालाले चित्रण गर्छ। जसलाई प्रायः ‘चामल-पानी मल’ भनेर वर्णन गरिएको छ। किनभने यो फिक्का, दूधे समेत देखिन सक्छ। यो वाकवाकी र बान्तासंग पनि हुन सक्छ। यदि समयमै उपचार गरिएन भने घातक हुन सक्छ। हैजाको ब्याक्टेरिया भिब्रियो कोलेरा संक्रमणपछि एक देखि दस दिनसम्म दिसामा रहन्छन् र वातावरणमा फैलिनसक्छ र  सम्भावित रूपमा अन्य मानिसहरूलाई सङ्क्रमण गर्दछ।

हैजा निम्त्याउने ब्याक्टेरिया सामान्यतया संक्रमण भएको व्यक्तिको मलबाट दूषित खाना वा पानीमा पाइन्छ। सामान्य स्रोतहरू जस्तै: नगरपालिकाको अव्यवस्थित पानी आपूर्ति, सडक बिक्रेताहरु द्वारा खुल्ला स्थानमा बेचेको खाना र पेय पदार्थ, दिसा पिसाव मिसिएकॊ पानीमा फल्ने तरकारी, काँचो वा कम पकाएको माछा र ढलको प्रदूषित पानीमा यसका अवशेषहरु सक्रिय रुपले जीवित रहन्छन्। जब एउटा व्यक्तिले दूषित खाना वा पानी उपभोग गर्दछ, ब्याक्टेरियाले आन्द्रामा विषाक्त पदार्थ छोड्न थाल्छ जसले  गम्भीर पखाला उत्पन्न गर्दछ।

हैजा सजिलै र छिटो फैलन्छ  तर यसको सजिलै उपचार पनि गर्न सकिन्छ । हैजाको प्रकोपको बेला उपचारमा द्रुत पहुँच आवश्यक छ। ओरल रिहाइड्रेसन थेरापी अर्थात् जीवन जल समुदायहरूमा उपलब्ध हुनुपर्दछ।  ठूला उपचार केन्द्रहरूमा तुरुन्त आवश्यक जनशक्ति खटाउनुपर्छ। जसले ओआरएस र २४ घण्टा हेरचाह प्रदान गर्न सक्छ। प्रारम्भिक र उचित उपचारले मृत्यु दर १ प्रतिशतभन्दा रहेको छ। हैजाको प्राथमिक रोकथाम व्यक्तिगत स्तरमा उपयुक्त व्यक्तिगत सरसफाइ, सफा  खानेपानी आपूर्ति, सफा र पोषिलो खानाको उचित तयारी, साथै तत्काल पहिचान र उपचारद्वारा प्राप्त गर्न सकिन्छ। समुदायमा उचित र व्यापक खोपको माध्यमबाट सामुहिक प्रतिरोधात्मक क्षमता (हर्ड इम्यूनिटी) विकास गर्नका साथै प्रकोपको प्रारम्भिक पहिचानको माध्यमबाट समुदाय स्तरमा ब्यापक सचेतना जागृत गराउन सकिन्छ।  

स्थानीय तहसंगको सक्रिय सहभागितामा प्रकोपको समयमा ब्यापक र द्रुत गतिमा सचेतना अभियानहरू सञ्चालन गर्नुपर्दछ।  समुदायलाई हैजाको सम्भावित जोखिम र लक्षणहरूबारे जानकारी, हैजाबाट बच्न अपनाउनु पर्ने सावधानी, समन्वय र सहकार्य गर्नुपर्ने स्थानहरु  र लक्षणहरूका सम्वन्धमा  निरन्तर सुसुचित गराउनुपर्दछ । पहुँचयुक्त्त र उपयुक्त उपचार स्थलहरु साझा गर्नुपर्छ। सामुदायिक चासो, सरोकार र संलग्नताले व्यवहारमा दीर्घकालीन परिवर्तन भई हैजा नियन्त्रणको लागि महत्वपूर्ण हुन्छ।
हैजाको प्रकोप नियन्त्रण गर्न र हैजाको उच्च जोखिम मानिने क्षेत्रहरूमा रोकथामका लागि पानी र सरसफाइमा भएको सुधारको संयोजनमा हैजा खोप प्रयोग गर्नुपर्छ। सरकारले हैजाको रोकथामका लागि हात धुने प्रविधि जस्तो राम्रो र प्रभावकारी क्षेत्रमा लगानी गरिरहेको छ। हात धुनु महत्त्वपूर्ण पाटो भएता पनि नेपालमा हैजा सर्ने अन्य नयाँ मार्गहरू देखा परिरहेका छन्।

विश्व स्वास्थ्य संगठनको हैजा नियन्त्रण साझेदारहरूको ग्लोबल टास्क फोर्स ‘इन्डिङ कोलेरा- अ ग्लोबल रोडम्याप टू २०३०’को कार्यान्वयन मार्फत हैजा अन्त्य गर्ने कार्यको लागि आह्वान गरेको छ। हैजाबाट प्रभावित देशहरूलाई हैजाको संक्रमण अन्त्य गर्न थप प्रयास र स्रोतहरू पहिचान गराउन आग्रह गरिएको छ। यस सन्दर्भमा, हैजा विरुद्धको खोपले हैजाको प्रकोप रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

हैजा नियन्त्रणको दीर्घकालीन समाधानका लागि सुसुचित समाज, सुरक्षित पिउने पानी र पर्याप्त सरसफाइमा पहुँच बढाउनु जरुरी छ। नेपालमा हैजाको प्रकोपको निगरानीलाई  द्रुत रूपमा पत्ता लगाउन र प्रतिक्रिया दिन राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवाश्यक देखिन्छ। एकीकृत र प्रभावकारी समाधानका लागि  नीति निर्माणकर्ता, जनस्वास्थ्य प्रशासक र प्रबन्धकहरू र स्वास्थ्य सेवासँग सम्वन्धित व्याक्त्तित्वहरूको संलग्नता र प्रतिबद्धता आवश्यक  छ। यो रोगको निगरानी र प्रकोपलाई द्रुत रूपमा समाधान गर्न स्थानीय तह, प्रादेशिक तथा सरोकारवाला सबै पक्षबाट राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक छ। swasthyakhabara