March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

घार्रघुर्र मदानी : स्वरैमात्र चर्को

राजाराम बर्तौला

थामलाई प्रतीकात्मक रुपमा राष्ट्रियताको मियो मान्ने हो भने यतिखेर हाम्रो नेपालमा ठेकीमा राखेको दही मथ्ने काम भइरहेको छ । अर्थात्, राजनीतिक दलका नेताहरु आफ्नो नीति र कार्यनीतिहरुको समीक्षा गरिरेहछन् कार्यकर्ताका माझमा । नेतृत्वका आकांक्षीहरु आफूलाई र आफ्नो विचारलाई पुनर्पुष्टि गर्ने वा विचारमा नयाँ पाइन चडाउने कार्यमा कसरत गरिरहेका छन् ।

Advertisement

बाहिरवाट हेर्दा कम्तीमा यस्तै देखिन्छ । तर, परबाट सुन्दा मदानीको घ्यारघ्यार घुरघुरमात्र सुनिन्छ । हुन पनि एक किसिमले राष्ट्रियस्तरको मन्थन भइरहेछ । भन्न सकिन्न यो मन्थनवाट के निस्कन्छ ? अमृत कि विष ? तर दहीलाई धेरै मथियो भने निस्किएको नौनी पनि बिलाएर जाने सम्भावना रहन्छ । विचार गर्नुपर्ने र हेक्का राख्नुपर्ने विषय यही हो अहिले । 

Advertisement

नेपालका प्रायः सबै ठूला राजनीतिक दलहरु अहिले राष्ट्रिय अधिवेशनको माध्यमद्वारा संगठनको वैधानिकताको लागि स्थानीयस्तरका  एकाइहरुदेखि प्रान्तीय तथा केन्द्रीयस्तरसम्मका नेतृत्व चयन गर्ने काममा एकाग्रचित्तले लागिपरेका छन् । नेकपा (माले)ले त आफ्नो अधिवेशन सकिवरी नेतृत्व चयन भएको घोषणा नै गरिसकेको छ । अरु, प्रमुख राजनीतिक दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस संगठनको तल्लो एकाइदेखि नेतृत्व चयन गर्दै आइरहेका छन् । नेपाली कांग्रेसको स्थानीयस्तरमा युवाको सक्रिय सहभागिता र नेतृत्वमा आउने चाहनासमेत हेर्दा आशावादी अनुहारहरु देखा परेकाछन् । 

केहीले त बेलायतबाट उच्चशिक्षा आर्र्जन गरेका समेत देखिएको छ । यस्तो हुनु पक्कै पनि शुभ संकेत हो । जयवीर देउवा र अनुराग खड्का दुवैले बेलायतबाट मास्टर्स ( स्नातकोत्तर) गरेका रहेछन् । त्यस्तै सोलुखुम्बुकी २१ वर्षीया पूजा फँुयाल, बझाङकी २२ वर्षीया सिर्जना स्नेही, गोरखाका २७ वर्षीय शिवहरि तिमिल्सिना, बाग्लुङकी सगुन पौडेल, डँडेलधुराका भरत बडायरलगायतका युवा भविष्यका आशालाग्दा अनुहार हुन् । 

मंसीर महिनाभरमा यी सबै राजनीतिक दलहरुले राष्ट्रिय अधिवेशन सकेर तलदेखि माथिसम्म संगठनको सबै पदमा नयाँ निर्वाचित नेताहरु आसीन हुनेछन् । यही निर्वाचित वा मनोनीत नेताहरुले नै आगामी आधा दशकसम्मको मुलुकको राजनीति हाँक्नेछन् । जुनसुकै राजनीतिक दलको भए पनि आसन्न अधिवेशनले चयन गरेका सबैस्तरका सबै किसिमका नेताहरु आगामी पाँच वर्षसम्मका लागि जनताको दृष्टिपटलमा रहनेछन् ।  

राजनीतिक दलहरुको राष्ट्रिय अधिवेशनका क्रममा देखिएको राजनीतिक सरगर्मी हेर्दा आगामी राजनीति अहिलेकोजस्तो गन्तव्यहीन हुनेछैन कि भन्ने आशासम्म गर्न सकिन्छ । तर, यथास्थितिमा मुलुकको व्यक्तिपरक प्रतिशोधको राजनीतिले प्रशिक्षित गरेको आगामी पुस्तामा तात्त्विक भिन्नता आइहाल्ला भन्ने पूरा विश्वास गर्ने ठाउँ भने छैन । 

जे भएपनि बिहानीले दिउँसोको रुप देखाउँछ भनेजस्तो उदाउँदो सूर्य होस् या अस्ताउँदो सूर्य फल लगेको आँपको रुख होस् या भित्र मक्किएको वृद्ध रुख, लैनो गाई होस् या थारो, ट्य्राक्टरको टेलर होस् या काठको हलो, यिनको नेतृत्वमा जान आकांक्षा राख्ने नेताले आफू तथा आफ्नो राजनीतिक दलले लिने दृष्टि, सोच, मिसन, भावी कार्य नीतिआदिको विषयमा व्यापक छलफल गरे होलान् । आफूलाई प्रतिस्पर्धीभन्दा उम्दा, र श्रेष्ठ प्रमाणित गर्न नयाँ र नवीन विचार प्रवाह गरे होलान् । कम्तीमा पनि अपेक्षा त यही हो । 

पुस्तान्तरणसहित आउने परिवर्तन अलि फरक होस् । भिन्न प्रकृतिको आकर्षक होस् । नवीन र स्वीकार्य त हुनै प¥यो । यस्तो परिवर्तनले समाजलाई निर्वाध हाँक्न सकोस् । यो निष्पक्ष होस्, न्यायिक होस्, समावेशी होस्, निर्भीक होस्, सकारात्मक होस्, प्रगतिशील होस्, जवाफदेही होस्, र होस् जनप्रिय लोकतान्त्रिक । नहुनु चाहिँ के थियो र छ भने – यो उही पुरानो शैलीको, घिसिपिटी, पुरानै कलेवरको नहोस् । पुरानो कलेवरको भन्दा संगठनको बाहिरी आवरणलाई लोकतान्त्रिक नाम दिएर तर भित्री इच्छा अधिनायकवादको राख्ने नहोस् । खुकुरी रमले बोतलको आकार प्रकार फेरेर बजारीकरण गरेजस्तो रक्सी चाहिँ पुरानै बोतलको रुपमात्र फरक प्रकृतिको हुनुभएन । बाहिरबाट हेर्दा आकर्षक र नयाँ लाग्ने परन्तु भित्र चिज उही र स्वाद पनि उहि पुरानै । 

विसं २०४७ पछि आएको राजनीतिक परिवर्तनबाट नेपालीले सामाजिक, आर्थिक रुपान्तरण भई समुन्नत समाज निर्माणको परिकल्पना गरेका थिए । समय बदलियो प्रवृत्ति बदलिएन । अब त होला कि भन्यो त्यो अवसर कहिल्यै आएन । अझैसम्म परिवर्तनले उज्यालो देख्न पाएको छैन । आश्वासन र भाषणको बाढी नै आयो ।  दल उही, नेता उनै, नेतृत्व शैली उस्तै, नीति उही, सोच पुरानै र गति र मतिसमेत उहि भएको अवस्थामा हामी अल्झिरह्यैँ दशकौंसम्म । अहिलेसम्म पनि । नेताको आश्वासन, भाषण र कुराको चास्नीमा डुबेर बाँच्नुपर्ने नियति भएको छ हाम्रो । 

भनिन्छ नि ‘रातभरी करायो दक्षिणा हरायो ’ हो त्यस्तै भएको छ हाम्रो अवस्था । नेतृत्वकै कुरा गर्‍यो, नेता कै कुरा गर्‍यो, परिवर्तनको लागि ठूलाठूला नारा लगायो, लेख्यो, बोल्यो, जे जे गरेपनि आखिर उसैको झोला बोक्यो, उसैको पछि लाग्यो । यस्तै भएको छ बौद्धिक वर्ग । वर्तमान नेतृत्व जो २०४७ का साक्षी हुन्, अभिशप्त भएर हामी तीन दशकसम्म पनि यिनीहरुकै छत्रछायामा बस्नु परिरहेको छ । अरु मुलुकमा दशौं नेता आए र गए तर नेपालमा उही अनुहार – ‘नखाऊँ भनी दिनभरको सिकार खाउँ भने कान्छाबाउको अनुहार’ जस्तो भएको छ हामी मतदातालाई । 

यो तीस वर्षको अवधिमा छिमेकी भारतमा नै पनि राजीव गान्धीदेखि लिएर नरेन्द्र मोदीसम्म आउँदा विभिन्न राजनीतिक दलका ७–८ नेता आएर गइसके । तर, नेपालमा भने राजनीतिक सिन्डिकेटजस्तो चलेको छ । 

यो राजनीतिक सिन्डिकेटजस्तो किन पनि हो भने हामीले अवलम्बन गरेको निर्वाचन पद्धति उही पुराना राजनीतिक दलहरुलाई फाइदा पुग्ने खालको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को एकाधिकार तोड्नै नसकिनेजस्तो । आठ नौ लाख सक्रिय कार्यकर्ता भएका यी राजनीतिक दलहरुले संसदीय निर्वाचनमा खसेको मतको २५ प्रतिशतभन्दा बढीको हिस्सा ओगट्दै आएका छन् । यस्तो परिवेशमा आगामी निर्वाचनहरु पनि खासै भिन्न होला भनी अनुमान गर्न कठिन छ ।  

पटकपटक अवसर पाएर पनि चुकेका, नेतृत्व क्षमतामा अब्बल प्रमाणित हुन नसकेका, राष्ट्रिय राजनीतिमा उपयोगिता सकिएका, अस्ताचलमा पुगेका नेताहरुबाट मुलुकले उन्मुक्ति पाउनुपर्छ । यी नेताहरुको योगदानको उचित कदर गर्दै सम्मानित स्थानमा बस्न युवाले प्रेरित गर्नुपर्छ । राजनीतिक शक्ति यस्तो बाहुपास हो ‘बूढो गोरुले गाई ओगटे’जस्तो कुर्सीमोहबाट कहिल्यै निवृत्त हुन दिँदैन । यो दुश्चक्रलाई संस्कारयुक्त ढंगले तोड्नु पर्छ र नयाँ परिवर्तनको डोब राखिनुपर्छ । एउटा किसानले पनि आफ्नो उमेर पुगेपछि जिम्मेवारी हस्तान्तरण गर्छ । छोराको काँधमा हलो जुवा राखेर विश्राम लिन्छ । पिँढी बसेर वा अंगेनाको डिलमा बसेर पुराना स्मृतिका कथाहरु सुनाउँछ । हाम्रा अग्रणी नेताहरुले राजनीतिक परिवर्तनका लागि गरेको तपस्या र बलिदानी संघर्षको कथालाई लिपिबद्ध गर्ने बेला भएको छ । 

तर के गर्ने ? ‘कथाले मागेपछि’ भन्ने उक्ति ठ्याम्मै मिल्छ यहाँ पनि । परिस्थितिले सिर्जना गरेको वाध्यता भन्दै उनै पुराना नायकहरु अगाडि सरेका छन् नेतृत्वको अग्रमोर्चामा । पाँचपटक प्रधानमन्त्री भएका हुन् कि, पटकपटक दोहोर्‍याएर प्रधानमन्त्री भइसकेका, स्वास्थ्य अवस्था खराब नै भएका वृद्ध बिमार नै किन नहुन् । लाग्दैछ, मुलुक पुरानै नेताहरुमा अभ्यस्त छ । 

अहिलेसम्मको राजनीतिक दलभित्रको प्रतिष्पर्धा, होडबाजी, खिचातानी र निर्णायक परिणाम हेर्दा राष्ट्रिय राजनीतिले अलगधार लिने कुनै छाँट देखाएको छैन । परिवर्तनको इच्छा राख्ने परिवर्तनकामी नेपाली आशावादी हुने ठाउँ खासै देखिँदैन । यही अवस्था रहने हो भने अर्थात् यथास्थितिमा कुनै परिवर्तन नआउने हो भने भोलीको नेपाल अहिले देखिएका अकर्मण्य नेताहरुकै हातमा जाने निश्चितजस्तै छ । परिवर्तन र विकासको चर्को नारालाई कुनै एउटा कुनामा लगेर थन्क्याए हुने छाँटकाँट देखिन्छ । 

आशालाग्दा युवा नेता केन्द्रीयताको फलामे माखेसाङ्लोमा बाँधिएजस्तो देखिँदै छ । जसरी मदानीलाई घुमाउने अर्कै हुन्छ आफू आवाज निकाल्दै घुम्छ तर थाममा बाँधिनुको नियतिबाट छुटकारा पाउँदैन । त्यस्तै देखिन्छ अहिलेको अवस्था । झिना मसिना स्वरमा घ्यारघ्यार आवाज गरे पनि केन्द्रीयताको बन्धन चुँडाल्न नसक्ने । स्वरमात्र गरेर के हुन्छ र आँटै नभएपछि । 

एकथरी कतै कुनै घरको अट्टालिकाबाट आफूलाई वैकल्पिक शक्ति भन्दै उच्चाहट गरे पनि समयको कसीमा घोटिँदा शुद्ध सुन हो भन्नेमा नै शंका उत्पन्न भएको छ । कालान्तरमा हबिगत देखिँदै जाँदा टाउको बिनाको मुर्कट्टा हो कि जस्तो पनि भान हँुदै छ । दर्शनविनाको राजनीति भनेको जगविनाको घर र सिद्धान्तविनाको विज्ञानजस्तै न हो । कुन धरातलमा टेकेर उभिने भनेको जस्तो हो राजनीतिक दर्शनविनाको राजनीतिक दल । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ आफ्नो देशलाई स्वर्गतुल्य बनाउने चाह त सबै राष्ट्रप्रमीको हुन्छ नै । देशको मायालाई मन र मुटुमा सजाउँदै गर्दा शीरमा समेत राखेका हुन्छन् स्वाभिमानी देशभक्तहरुले । राजनीति सञ्चालन भने राजनीतिक दर्शनबाट नै हुन्छ । अन्यथा, राजनीतिक संगठन एउटा व्यावसायिक घरानामा परिवर्तन हुनजान्छ । 

जनताले परिवर्तनको अनुभूति गर्न सकेनन् भने फेरि परिवर्तन खोज्छन् । मानवीय स्वभाव नै हो नित्य नयाँ परिवर्तन देख्न चाहने, अग्रगामी सोच राख्ने । यथास्थितिमा रहनु पर्‍यो भने मानिस छटपटाउँछ, अधीर हुन्छ । मानिस यथास्थितिमा रहन सक्दैन भने उस्को परिवेश र उसले सिर्जना गर्ने अरु विषय कसरी एकैस्थानमा अविचल रहन सक्छन् र ? सक्दैनन् । अतः परिवर्तन जरुरी छ । 

भनिन्छ, इतिहास दोहोरिन्छ । हो तर इतिहास सधैँ उही सरल रेखामा एकै किसिमले दोहोरिँदैन । अर्थात्, जनताले हिजोको परिवर्तनलाई नै सधैँ सहजरुपमा स्वीकार गदैनन् । 

परिवर्तनलाई निरन्तरता दिइरहन सकेमात्र जनता शासकीय प्रबन्धमा रमाउँछन् । राज्यले आफूमाथि जनताको आस्था र भरोसा कायम राख्न जनताको मनोभावनामा नवीनता सञ्चार गराउन सक्नुपर्छ । रामराज्यमा न्याय, व्यवस्था, शान्ति, विकास सबै हुँदा र एउटै अवस्था लामो समयसम्म रहँदा जनतामा वितृष्णा उत्पन्न हुन्छ, जनताको रुचि, सौन्दर्य, विलासिता, विषय भोग आदिलाई जागरुक राख्न, राज्यप्रति निष्ठा, एकाग्रता राख्न विभिन्न प्रतियोगिताहरुको आयोजना, निर्माण, योजना, कलात्मक सिर्जना आदि कार्यलाई निरन्तरता दिइएको थियो भनेर पढ्न पाइन्छ । 

मल्लकालमा विशिष्ट शैलीका कलात्मक मठमन्दिरहरुको निर्माण पनि यही दर्शनको आधारमा भएको हुनुपर्छ । अर्थात्, जनतालाई नयाँनयाँ र फरकपनको आभास गराउनुपर्छ, जनतालाई व्यस्त राख्नुपर्छ भन्ने मान्यता । 

शासकीय व्यवस्थालाई अकण्टक राख्ने हो भने जनताको परिवर्तनप्रतिको चाहनालाई सधैँ ध्यानमा राख्नुपर्छ । जनतालाई दमन गरेर होइन जनताको मनोभावना जितेर राज गर्नुपर्छ । परिवर्तनको अनुभूति गर्न नपाएका जनता टुक्का, ठट्टा, परिहास या उटपट्याङ, चुट्किला, वा दर्शनका पोथ्रा र राजनीतिक वादका ठूला कुराहरु सुनेर सन्तुष्ट हुँदैनन् । 

राजनीतिक विशृंखलता, उद्दण्डता, भ्रष्टाचार, नातावाद, कृपावाद आदिबाट विरक्त जनता राजनीतिक दलहरुको राष्ट्रिय अधिवेशनबाट नयाँ ऊर्जावान् नेता उदाउँछन् कि भन्ने अपेक्षामा देखिन्छन् । परन्तु, एकपछि अर्को गर्दै जनताको आशामा तुषारापात हुने लक्षण देखिन थालेका छन् । ‘काग कराँउदै गर्दा पिना सुक्दै गर्छ’ भन्ने उक्ति चरितार्थ होला कि जस्तो पो छ ।  न मोही, न दही, घिउको त कुरै रहेन । राष्ट्रिय राजनीति मदानीको घ्यारघ्यारभन्दा फरक रहेन । परिवर्तनको संकेत त परको कुरो । baarakhari