December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

मिर्गौला फेल र उपचारात्मक विकल्पको रुपमा पेरिटोनियल डायलाइसिस

संजय अधिकारी

मिर्गौला हाम्रो सरीरको एक महत्वपुर्ण अंग हो। बोडीजस्तै आकार भएका  हाम्रो मुठ्ठी जत्रै (सामानयतया ५ इन्च)का दुई वटा मिर्गौला ढाडपट्टी मेरुदण्डको दायाँ र बायाँ करङहरूको तल समान अवस्थामा रहेको हुन्छन्। कलेजोको कारण दाहीने मिर्गौला देब्रे मिर्गौलाको अवस्थितिको हिसबले केही तल हुन्छ।

Advertisement

मिर्गौलाले के काम गर्छ?
मिर्गौलाले २४सै घण्टा रगत सफा गर्नको लागी एक सफाइ मेसिन जस्तै काम गर्दछ। मिर्गौला भित्र लाखौंको संख्यामा नेफ्रोन भनिने फिल्टर कोषहरू हुन्छन् जसले एक दिन भरीमा करिब २ सय लिटर रगत फिल्टर गर्ने क्षमता राख्दछन्। जसबाट शरीरले निम्न कार्यहरू सम्पन्न गर्दछ।
●    रगतमा भएका बिकार तत्वहरूलाई फिल्टर गरी शरीर बाहिर फाल्ने।
●    शरीरमा पानी तथा  तरल पदार्थको सन्तुलन गर्ने।
●    नुन, पोटासियम जस्ता तत्वहरूको सन्तुलन कायम गर्ने।
●    शरीरमा अम्ल र क्षारको सन्तुलन कायम गर्ने।
●    रक्तचाप सन्तुलन गर्ने।
●    राता रक्तकोषिकाहरु बनाउन आवश्यक जिवरस उत्पादन गर्ने।

मिर्गौला कहिले फेल हुन्छ?
जब मिर्गौलाको फिल्टर गर्ने क्षमतामा ह्रास आउँछ तव शरीरमा फोहोर तथा तरल पदार्थहरू जम्मा हुन थाल्दछ। र यस्तो शारीरिक अवस्थालाई मिर्गौला फेल हुन लागेको संकेत मानिन्छ। जब मिर्गौलाले पुर्णरुपमा आफ्नो कार्य सम्पादन गर्न सक्दैन र सो कामको लागि अतिरिक्त उपचार पद्धतिहरु जस्तै: डायलाइसिस, प्रत्यारोपण जस्ता बिधिहरु अपनाउनु पर्ने हुन्छ। यस्तो अवस्थालाई मिर्गौला फेल अथवा मेडिकल भाषामा इन्ड स्टेज रेनल डिजिज (इएसआरडी) भनिन्छ। यस अवस्थामा मिर्गौलाले आफ्नो पुर्ण क्षमताको १५ प्रतिशतभन्दा कम काम गरेको हुन्छ। 
जब मिर्गौला फेल हुन्छ तब शरीरमा फोहोरहरु जम्मा हुने, शरीर विशेष गरि आँखाको वरिपरि र खुट्टाको जोर्निहरु सुन्निने, पिसाब कम अथवा बन्द हुने, श्वास फेर्न अप्ठ्यारो हुने जस्ता लक्षणहरु देखिन्छन्।

मिर्गौला फेल हुने कारण
मिर्गौला फेल हुने धेरै कारणहरु छन्। जसमध्ये मधुमेह, उच्च रक्तचाप, नियमित पिसाबनली तथा मिर्गौलाको सङ्क्रमण, पेन किलर तथा अन्य औषधिहरुको अनियन्त्रित प्रयोग, वंशाणुगत कारण।

मिर्गौला फेलको उपचारात्मक विकल्प
मिर्गौला फेल भइसकेपछि शरीरलाई नियमित संचालन गर्न उपचारात्मक विकल्पहरुको अवश्यकता पर्दछ। नेपालमा मिर्गौला फेल भएका बिरामीका लागि प्रत्यारोपण र डायलाइसिस दुबै सेवा निशुल्क उपलब्ध छन्। डायलाइसिस सेवा अन्तर्गत हेमोडायइलाइसिस (मेसिनबाट अस्पतालमा गरीने) र पेरिटोनियल डायलाइसिस (घरमा बसेर आफैंले गर्न सकिने) पर्दछन्।

के हो पेरिटोनियल डायलाइसिस (पिडी)?
पिडी मिर्गौला फेल भएका बिरामीहरुले अपनाउन सक्ने एक उपचारात्मक विकल्प हो। यो डायलाइसिसलाई पेटबाट गरिने डायलाइसिस अथवा घरमै बसेर बिरामी आफैंले गर्न सकिने डायलाइसिस (पिडी) भनिन्छ। यो डायलाइसिस पेटमा भएको परिटोनियल थैलिको प्रयोग गरेर गरिने रगत शुद्धीकरण विधि हो। पेट भित्र आन्द्रा र भुँडीलाई पेरिटनेनियल झिल्लिले घेरेर पेरिटोनियल थैली बनेको हुन्छ। सोही पेरिटोनियल झिल्लीले प्राकृतिक डाइलाइजर (रगत फिल्टर) को जस्तै काम गर्दछ। पिडी विशेष गरी २ प्रकारको हुन्छ सिसिपिडी र सिएपिडी। सिसिपिडी रातभर मेसिनको माध्यमले गरिन्छ र दिनभर केही गर्नु पर्दैन भने सिएपिडी दिनको २४सै घन्टा चलिरहन्छ जसको लागि कुनै मेसिनको जरुरी पर्दैन। दुवै तरिकाको डायलाइसिस बिरामी आफैंले गर्न सकिन्छ।

पिडीले कसरी काम गर्दछ ?
पेरिटोनियल थैलिमा पुग्ने गरी नाइटोको २ इन्च तलबाट सानो प्वाल बनाएर सिलिकनको कमलो क्याथेटर पाइप सामान्य अपरेसन गरी राखिन्छ। सोही पाइपको प्रयोग गरी पिडी फ्ल्यूड भनिने औषधि पानी पेटभित्र पेरिटोनियल थैलीमा पठाइन्छ। सो औषधिपानीले पेरिटनेनियल थैलीमा बसेर रगतमा भएको बिकार तत्व र पानीलाई पेरिटोनियल झिल्लीमा भएको फिल्टर प्वालहरुको माध्यमवाट आफूतिर सोसेर तान्दछ तर यसबाट ठूला प्रोटिन र रक्तोषहरु भने खेर जाँदैन। औषधि पानीलाई ४-८ घण्टासम्म काम गर्न पेरिटोनियल थैलीमा राखिन्छ। औषधि पानीलाई करिब ४-८ घण्टा पेटमा राखिसकेपछी त्यसलाई बाहिर निकालिन्छ र फेरि नयाँ औषधि पानी पेटमा पठाइन्छ। यो पानी निकाल्ने र राख्ने प्रकृया दिनमा ३-४ पटक सम्म गरिन्छ। १ पटक औषधि पानी निकाल्ने र राख्ने प्रकृयाको लागि करिब ३० मिनेट समय लाग्दछ। 

पिडीका फाइदा
●    पिडी डायलाइसिस सुरु गर्दाको समयमा भएको मिर्गौलाको कार्य क्षमतालाई लामो समयसम्म बचाइ रख्न मद्दत गर्दछ।
●    आफ्नो घरमा बसेर आफैंले गर्न सकिन्छ।
●    आफ्नो समय तालिका अनुसार डायलाइसिस गर्न सकिन्छ, डायलाइसिसको तालिका, सामय र डायलाइसिस गर्ने ठाउँको लागि अरुको भर पर्नु पर्दैन।
●    आफ्नै घरमा डायलाइसिस गर्न सकिने भएकाले सहर केन्द्रित हेमोडाइलाइसिस सेन्टर नजिकै डेरा गरेर बस्नु पर्दैन। आफ्नै गाउँघरमा बसेर गर्न सकिन्छ।
●    पिडी गर्दा रगत खेर जाँदैन। त्यसैले रगत चडाउन र रगत बढाउने आषधिको प्रयोग धेरै गर्नु पर्दैन। 
●    डायलाइसिस गर्नकै लागि सुई तथा सुइजन्य औजारको नियमित प्रयोग गर्नु पर्दैन।
●    तरल पदार्थ तथा खानामा स्वतन्त्रता।
●    भारी काम बहेकका सम्पुर्ण काम गर्न सककिने भएकाले डायलाइसिसकै कारणले अध्ययन, रोजगारी तथा आफन्तको माया गुमाउनु पर्दैन।
●    मुटुको रोगीहरु तथा बच्चाहरुको लागी उपयुक्त डायलाइसिस।
●    विभिन्न अनुसन्धानहरुका अनुसार पिडी गरेका बिरामीहरुको प्रत्यारोपणपछीको परिणाम राम्रो देखिएको छ।
●    २४ सै घण्टा डायलाइसिस हुने भएकोले शरीर सधैं स्वस्थ्य र फुर्तिलो रहन्छ।
●    भाइरल रोगहरु (एचआईभी, हेपाटाइटीस) को सङ्क्रमण जोखिम कम हुन्छ। जस्तै अहिले कोरोना माहामारीको समयमा घरमै बसेर गरिने भएकोले अस्पताल जाने आउने गर्दा हुने सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सकियो।

नेपालमा यसको महत्व र आवश्यकता
नेपालमा भौगोलिक विकटताले गर्दा सबै ठाउँमा सबै किसिमको स्वास्थ्य सेवा उपलब्ध छैनन्। त्यसमा पनि डायलाइसिस सेवा त झन् सहर केन्द्रीत छन्। डायलाइसिस सेवाको लागि बिरामीहरु घर परिवार छोडेर सहरमा डेरा खोजेर बस्नुपर्ने बाध्यता छ। यसको विकल्पमा पिडी सेवा बिरामीलाई सहज रुपमा उपलब्ध गराउन सकेमा बिरामी आफ्नै घरमा बसेर आफ्नो डायलाइसिस आफैं गर्न सक्छन्।

पिडीको लागि कुनै मेसिनको आवश्यकता पर्दैन त्यसैले गर्दा अहिले भइरहेको स्वास्थ्य संरचनाबाट नै सेवा प्रदान गर्न सकिन्छ। हेमोडायलाइसिसको लागि जटिल तथा खर्चिलो भौतिक स्वास्थ्य संरचनाको आवश्यकता पर्दछ। जस्तै: मेसिन, पानी सफा पार्ने मेसिन, औषधि तथा उपकरण भण्डारण, जसको लागि सुरुवाती आवस्थामानै ठूलो धनराशी खर्च हुन्छ चाहे त्यो राज्यको होस या निजी क्षेत्रको। तर पिडी को लागि यी सबै उपकरणको आवश्यकता पर्दैन। जसको लागि सामान्य आपरेशन गर्ने कोठा र तालिम गर्ने कोठा भए पुग्छ।

सरकारले बिपन्न नागरिक नि:शुल्क डायलाइसिस सेवा दिने नीति अवलम्बन गरेको छ जसले गर्दा अती बिपन्न नागरिकले पनि डायलाइसिस सेवाबाट बन्चित हुनु पर्दैन। तर डायलाइसिस सेवा प्रदान गर्ने श्रोत र साधन तथा मेसिनको कमीले गर्दा आज पनि आधिकांश  बिरामीहरु डायलाइसीस सेवा बाट बन्चित छन्।

कसरी पिडी सेवा सहज र सर्वसुलभ गर्न सकिन्छ ?
विगतका केही बर्षदेखी नेपालका केही अस्पतालमा पिडी सेवा संचालनमा आएको भएता यसले व्यापकता पाउन सकेको छैन। हेमोडायलाइसिस मेसिनबाट गरिने डायलाइसिसको लागि एक सय बिरामी बराबर आवस्यक स्वास्थ्य संरचना र जनशक्तिले पेरिटोनियल डायलाइसिस एक हजार जनाभन्दा बढी बिरामीलाई उपलब्ध गराउन सकिन्छ। जसबाट राज्यले थोरै खर्चमा धेरै सेवा प्रदान गर्न सक्दछ।

विश्वका धेरै देशहरुले पिडी फस्ट पोलिसी लागू गरी जनताको स्वास्थ्य सेवामा प्रयोग गरेको यस उपचार बिधि पेरिटोनियल डायलाइसिसलाई हामीले हाम्रो देशमा हाल उपलब्ध स्वास्थ्य संरचनाको प्रयोग गरेर नै जनस्तरमा सहज रुपमा पुर्याडउन सकिन्छ। आहिले संचालनमा रहेको प्रदेश, जिल्ला र केन्द्रीय आस्पताललाई शल्यचिकित्सा र तालिमको केन्द्र बनाएर बिरामीको पेटमा पाइप राख्ने र स्वास्थ्य जनासक्तिका साथसाथै बिरामी र बिरामीको आफन्तको लागि तालिम केन्द्रको रुपमा स्थापित गरी बिरामीको सम्बन्धित जिल्लामा रहेको जिल्ला आस्पताल र स्वास्थ्य चौकीबाट बिरामीको आवश्यकता आनुसरको स्वास्थ्य सुबिधा प्रदान गर्ने।  र  केन्द्रसँग आवश्यक समन्वय गर्ने।  पिडीलाई आवश्यक औषधि सिधै राज्यस्तर बाट राष्ट्रिय टेन्डर प्रक्रियाबाट सस्तो र गुणस्तरीय औषधि खरिद गरि अथवा राज्यको स्वामित्वको औषधि उत्पादन कम्पनी अथवा स्वदेशी निजी कम्पनिबाट यसको औषधि पानी उत्पादन गरी आवश्यकता आनुसरको बिरामीलाई स्थानीय स्तरबाटनै उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। यसो गर्न सकेमा राज्यको थोरै स्रोत र साधनको प्रयोग गरी धेरै बिरामीले सेवा लिन सक्नेछन्।