September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पार्टीका बुढापाका नेताबाट कथा सुनौँ, कार्यकारीको बोझ नदिऊँ

  • सुबोधराज प्याकुरेल

गुरुत्वाकर्षणको पहुँचभन्दा माथि पुगेपछि धरातलमा फर्किन अतिरिक्त प्रायोजन गर्नुपर्छ। हाम्रो देशका विभिन्न दलका कतिपय विशिष्ट नेताहरूले गुरुत्वाकर्षणको पहुँचभन्दा माथि आफूलाई उकाली सक्नुभयो। उहाँहरूसँग रोमाञ्चक उद्देश्यमूलक र प्रेरणादायी अनुभव छ।

आफ्नो समयमा उहाँहरुले गर्नुभएको त्याग, अठोट र संघर्षको सर्वकालिक महत्त्व छ। त्यस बेलाको त्यो रोमाञ्चक स्मरणले बुढेसकालमा, आजको यथार्थको गुरुत्वाकर्षणभन्दा माथि पुगिसकेको बेलामा पनि उहाँहरूलाई धर्तीमा गाँसिन, माटोमा जोतिन र अख्तियारी खेलाउन थिचेको थिच्यै गर्छ।

युग कृत्रिम बौद्धिकताले भरिँदै गइसक्यो। जोन हकिन्सले तर्साएको विश्वमा युवा पंक्तिलाई हतारोबाहेक केही छैन। बहुमुखी क्षमता र बहुआयामिक सूचनाले युक्त, तन्नेरीको बहुमत भएको छ।

यसबेला मुलुकमा उही आफ्नो बेलामा आफूले थालेको सानो, अनुशासित, वस्तुगत आधारभन्दा पनि आदर्श सपनाका लागि प्राण न्यौछावर गर्ने गोपनियतावादी ढाँचाको टेको टेकेर २१औं शताब्दी हाँक्ने सुन्दर सपनाका यी आरोहीलाई कसरी खुसी राख्ने? तिनको विगतको सम्मानलाई कसरी प्रेरणाको बहीमा लेखांकन गर्ने? आजको ज्वलन्त समस्या यही हो।

शरीर कमजोर भइसक्यो, स्मरण शक्ति पुरानो हार्ड-डिस्कमा कुँजिएको छ। बारम्बार पदमा आसीन हुँदा आफूले बुनेका ती सुन्दर योजना र सपना कहिल्यै लागु गर्न उहाँहरुले सक्नु भएन। तर‚ त्यही अमूल्य तृष्णाले बस्न टिक्न दिएको छैन। कसरी सम्झाउने ती भेट्रानहरूलाई कि आदेश गरेर सम्झाएर र ठेलेर काम बन्ने वाला छैन।

ती वरिष्ठ महामनाहरूले शासक चिन्नुभयो। शासितले पाएको दुःख बाट द्रवित हुनुभयो। उहाँहरुको त्याग र बलिदानलाई जनताले पत्याए। आन्दोलनको नेतृत्व गर्नुभयो। जब शासनमा पुग्नुभयो अनि बल्ल थाहा भयो कि उहाँहरूसँग पुरानो शासनको प्रतिदान, संरचना र संस्कार कै औजार मात्र रहेछ। शब्द, पोशाक, ढाँचा, ढर्रा, प्रकृया र भाव भंगीमा जनताभन्दा शासकलाई विशिष्ट देखाउन रचना गरिएका संस्कार हुन भन्ने पनि उहाँहरुले ठम्याउन सक्नुभएन।

अघि पछि साइरन बजाउँदै हिँड्ने सुरक्षा फौजको जमात, पाइलैपिच्छे सम्माननीय माननीयको वचन अभिषेक किन गरिन्छ? कानुन‚ नियम‚ विनियम‚ कार्यविधिको खुड्किले प्रकृयाको जन्जाल किन सिर्जना गरिन्छ? माननीयज्यू, सम्माननीयज्यू, जो मर्जी हजुर, हस् हजुर, जस्ता शाब्दिक अलंकारले वंशीभूत बनाएर आफूलाई किन मन्दिरको मूर्तिसरह सजाइन्छ भन्ने पत्तै पाउनुभएन।

उहाँहरुले सिद्धान्त र सपना त स्वदेशी विदेशी दार्शनिक विचारकबाट र जनतासँग घुलमिल गर्दा राम्रोसँग थाहा पाउनुभयो। तर जुन शासनको अन्त्यका लागि लड्नु भएको थियो, त्यो शासनले आफूलाई विशिष्ट र जनतालाई रैती बनाउन जे जस्ता प्रकृया कार्यविधि र संस्कार सिर्जना गरेको थियो। त्यसलाई चिन्ने र उल्टाउने जुक्ति न पढ्न पाउनुभयो, न जान्न पाउनुभयो।

सारा गडबड यहीँबाट सुरु भयो। पुराना शासकको सबै ढर्रामा आफ्नो सम्मिलन हुँदाहुँदा अब त्यो ढर्राको लालचले वशीभूत हुने गरि खुदै रूपान्तरित हुनुभयो। जब पदमुक्त हुनुभयो अनि बल्ल थाहा भयो हलुको अनौपचारिक पोसाक लगाएर, खुलस्त कुराकानी गर्न र स्वतन्त्र विचरण गर्न पाउनुको आनन्द।

तथापि‚ अहिले पनि उही पुरानो क्षुधाले पुनर्जागृत भएर उहाँहरूलाई चिमोटिरहन्छ, ‘पहिले गर्न नसकेको काम गर्नैपर्छ। आफ्नो एउटा पदचिह्न त छोड्नै पर्छ।’ खासमा त्यही विषादले अरूलाई खसालेर, तोडेर फोडेर जे गरेर भए पनि पद बहाली त गर्नै पर्ने ठाउँमा उहाँहरूलाई पुर्‍याइदिएको छ।

कस्तो होला त्यो तृष्णा जसले दुईतिरबाट ताती गराउँदै डोर्‍याउँदै भए पनि झगडाको पक्ष बन्न ठाउँ कुठाउँसम्म पुग्न बाध्य पार्छ। पांग्रे कुर्सीमा घिसारिएर भए पनि मै हुँ देश बनाउने भन्नुपर्ने पार्छ। आजको युगमा हाम्रोजस्तो थुप्रै देशमा नेता-व्यवस्थापन प्रमुख समस्या बनिरहेको बेलामा सम्मानित विगत र असान्दर्भिक वर्तमान भएका नेताहरूलाई आजको पुस्ताका लागि प्रेरणाको श्रोत र आफूलाई अनुगृहीत नागरिक बनाइ राख्न के गर्ने होला ?

यसै सन्दर्भमा यो विचार आयो र प्रस्ताव गरेँ, पार्टी कथालयको। कथालयमा उहाँहरुले सिद्धान्त, दर्शन, कार्यक्रम, परिस्थिति र त्यसको समाधानको रणनीति, कार्यनीति तथा तात्कालिक कार्यभारबारे बोधगम्य, अनुभवजन्य र प्रमाणिक कुरा गर्नु हुनेछ। अहिले जस्तो व्यक्ति व्यक्तिलाई लक्षित गरेर होइन कि सिद्धान्तको कसीमा समाधानको उपाय बताइदिनु हुने छ। श्रोता‚ अध्येतालाई सिद्धान्तको आधारमा आफैं निर्णय गर्न सक्ने बनाउन मद्दत गरिदिनु हुनेछ।

बुढो पुस्ताले भोगेको अनेक कष्ट र उपलब्धिको महाभारत छ। त्यसलाई विभिन्न शीर्षकमा वर्गीकरण गर्न सकिन्छ। जस्तै : विभाजन र एकीकरण, सँगी-साथीको बलिदान, भूमिगत जीवनको विशिष्ट सम्झना, जेल जीवन, प्रेरणा र अध्ययन,द्वन्द्व र शंकट निवारण, दर्शन र बिचारको विकास र परिमार्जन, परिवारसँगको मिलन बिछोड आदि।

शीर्षकपिच्छे उहाँहरुको रहर अनुसार उहाँहरूलाई प्रवचन दिन निम्त्याउन सकिन्छ। त्यसलाई डी-कोड गरौं र प्रकाशन गरौं। काम लाग्छ। उहाँहरुबाट आजको युग हाँकिन्न। कसले सम्झाइदियोस् कि आजको युग नियन्त्रण होइन सहजीकरणको युग हो। आदेश होइन उत्प्रेरणाको युग हो। नियन्त्रण होइन नियमनको युग हो। नतिजामुलक प्रशासनको र क्षमताअनुसारको पारिश्रमिकको युग हो।

राज्यसँग राष्ट्रिय अर्थतन्त्रको ३ प्रतिशतभन्दा कमको बजेट हुन्छ। तर‚ त्यसले बाँकी ९७ प्रतिशतका लागि इन्जिनको काम गर्न सक्नु पर्छ। मानिसको सिर्जनशीलता कानुनको दफाबाट, अधिकारीको आदेशबाट, नेताको हुकुमबाट निर्देशित गर्न खोज्ने हो भने युग भैँसी आहाल बसे जस्तो गरि थचारिएर बस्छ।

कानुनको शासनको अर्थ कानुनले निषेध गरे बाहेकका काम गर्न नागरिक निर्बाध रूपमा स्वतन्त्र हुन्छ भन्ने हो। तर‚ नियम र कार्यविधिको नाममा नागरिकलाई हरेक काम गर्ने बेलामा बाधा बिघ्न तेर्स्याउने पीडादायी नागरिक प्रशासन व्याप्त छ। गरिबको हुर्मत लिएको छ हाम्रो राज्यले।

सरकारी कार्यालयमा पुग्ने अदना नागरिक पियन‚ चौकीदारलाई दुःख बिसाउँछ। हाकिमको कोठामा पस्ने हिम्मत गर्दैन। विकासलाई भौतिक विकासको मात्र अर्थमा बुझिन्छ। बजेट पठाउने सरकारले, टेन्डर जारी गर्ने कर्मचारीले  र विकास गरिदिने ठेकेदारले।

कहिले जागिर नजाने कर्मचारी, सरकारी संरक्षणमा रहने नेता र कर राजस्वको तालमेलमा कमाउने व्यवसायी अनि उनीहरू र मन्त्रीबीचका विचौलिया। विभिन्न रङरुपका विचौलिया, अनेक आवरणमा विचौलिया। भत्काउन‚ सिध्याउन सिद्धहस्त पुराना बुढा पुस्ताले अबको युग हाँक्न त के कुरा चिन्न पनि सकेको छैन। उहाँहरुले गर्दा हामी यति कुरा निर्धक्क भन्न सक्ने भयौं।

विज्ञानले दावा गरे जस्तो मानिसको आयु अबको डेढ दुई दशकमा १५० वर्ष पुर्‍याइदिएछ भने बेग्लै कुरा नत्र अझै पनि संस्थालाई व्यक्तिसँग मात्र गाँसेर हेर्ने र तिनै बुढा पुस्ताको फेर समातेर मात्र राजनीतिज्ञ बन्न खोजी रहने हो भने त्योभन्दा निस्सार जिन्दगी के होला? बुढा नेताको आदर्श सपना ध्वस्त पार्ने कुरामा लाग्नु हुन्न।

आखिर पृथ्वीको ज्यूँदो आयु अबको ५-६ सय वर्ष मात्र हो। नेपाल जलवायु परिवर्तनको सर्वाधिक चपेटामा परेको मुलुक हो। हकिन्सले ७ कारणले पृथ्वीको विनाश-गाथा प्रमाणित गरेर गएका छन्। उनले वातावरणको विनास, पृथ्वीको बढ्दो तापक्रम, व्याधि, अर्को ग्रहको एलियन, अन्य ग्रहसँग पृथ्वीको टक्कर, मानिसको बढ्दो आयु र रोबोटमा उत्पन्न हुने आफ्नै संसार निर्माण गर्ने चतुर्‍याइँलाई मानव-विनासको कारकको रूपमा व्याख्या गर्दै तदनुरूपको होसियारी र मानव व्यवहारमा संयमको अपील गरेका छन्।

वैदिक मान्यता र सबै धार्मिक विश्वासअनुसार पनि प्रलय अवश्यम्भावी छ। उहाँहरुको सम्मान गरौं। तन्नेरी सपनालाई यथार्थमा अनुवाद गर्न हतारो लाग्नु पर्छ। उहाँहरुसँग संघर्षको ओजिलो गाथा छ। कायाकल्प गर्ने सपना छ।

ती सपनालाई यथार्थमा परिणत गर्न सक्ने व्यवस्थापकीय ज्ञान, अनुसन्धान र उपलब्धिको अद्यावधिक सूचनामा पहुँच र प्रशासकीय औजारको पहिचान छैन।

त्यसैले कथालयमा उहाँहरूको गर्विलो कथाको प्रेरणादायी अभिलेख गरौं। उहाँहरूलाई प्रवचक बनाऔं, पाठ पारायण बनाऔं, कार्यकारीको बोझबाट मुक्त गरौं। thahakhabar