October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

देउवा नै दोहोरिने संकेत !

  • गोविन्द अधिकारी

सामान्यजनका आँखाले हेर्दा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाबाहेक अरू हुँदा नै मुलुक र पार्टी दुवैका लागि बेस हुने देखिन्छ । तर, कांग्रेसका नेता र महाधिवेशनकाे तयारी हेर्दा भने चाैधौं महाधिवेशन भइहाले पनि देउवा नै सभापति चुनिने लक्षण देखिन थालेकाे छ । 

पहिलो त, आफू जित्ने निश्चित नभएसम्म देउवाले महाधिवेशन गर्न दिन्छन् भन्ने धेरैले पत्याउँदा रहेनछन् । दोस्रो, देउवालाई परास्त गर्ने रणनीति, कौशल र आँट पनि संस्थापन इतर भनिएकाे समूहमा देखिन सकेन । केही जिल्ला सभापतिहरूले थामेका भर देउवा विरोधी समूह महाधिवेशनसम्म एक भइरहन सक्ने पनि देखिएन ।

भए म, नभए देउवा 

डा. शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्म सभापतिका प्रत्याशी सबैले देउवालाई हराउन आफूलेमात्र सक्ने भन्दै उमेदवारीको दाबी गरेकाे सुनिन्छ । तर, यी कोही कसैले आफूबाहेक अरूको नेतृत्व मनैबाट स्वीकार गर्न सक्लान् भनेर पत्याउने आधार छैन । सबैले बरु कुनै न कुनै रूपमा ‘म नभए देउवा’ भन्ने सन्देश नै दिइरहेका छन् । “मबाहेक अरूले देउवालाई हराउन सक्तैनन्” भन्नुको तात्पर्य त्यही त हो ।

(तनहुँ जिल्ला पञ्चायतकाे चुनावमा एकपटक कसैले नपत्याएका उमेदवारले सबैभन्दा धेरै भोट ल्याएर जितेका थिए । जिल्ला पञ्चायतको तीन स्थान रिक्त थियो । मतदाताले तीन भोट हाल्न पाउँथे । धेरै जना उमेदवार भए । जित्लान् जस्ता प्रतिद्वन्द्वीलाई मत दिए आफू हारिने र आफूलाई मात्र मत दिए साथीले धोका दिएकाे थाहा पाउने भएकाले उमेदवारहरू कमजोरलाई भोट दिएर तीनवटा पुर्‍याउने जुक्ती निकालेछन् । भोट गन्दा पो सबै छक्क ! जुन उमेदवारले जित्दैन भनेको उसैको भोट बढी । उमेदवार सबैले एक भोट आफूलाई अरू तिनैलाई दिएपछि हुने नै भयो नि ! )

कांग्रेसको संस्थापना इतर भनिएकाे समूहका हस्तीहरू पनि “भए म नभए देउवा” भन्ने रणनीतिमा देखिएका छन् । सभापतिको उमेदवार हुन चाहनेहरूलाई दुई भोट हाल्ने मौका दिने हो भने सबैभन्दा धेरै देउवाकै हुन्छ ।

सबै उमेदवार सबैको हार !

देउवालाई हराउन संस्थापन इतरमा रहेका मात्र मिलेर पनि पुग्दैन । कम्तीमा तेह्रौं महाधिवेशनबाट पनि पाठ सिक्नुपर्थ्यो । त्यतिबेला कृष्णप्रसाद सिटौला सभापतिमा नउठेका शेरबहादुर देउवाले जित्ने थिएनन् । अहिले पनि  पुरानो संस्थापनलाई एक हुन नदिने नै  सिटौलाको रणनीति हुनसक्छ । स्वाभाविकै पनि हो, देउवाबाहेक अरू सभापति हुनेबित्तिकै सिटौला शीर्ष नेता जो रहँदैनन् ।

निधि एक पाइला अगाडि

देउवा खेमाबाटै सभापतिमा उमेदवारी दिने घोषणा गरेका विमलेन्द्र निधिले सम्पर्क कार्यालय खेलेका छन् । देउवालाई हराउन निधिको उमेदवारी ‘अमोघ अस्त्र’ हुनसक्छ । (त्यसो त , निधिलाई संस्थापन इतरले पनि समर्थन गरेर साझा उमेदवार बनाउन दबाब दिए देउवालाई पनि पछि हट्न चर्को नैतिक दबाब पर्ने थियो । हुनत, त्यसो हुने सम्भावना बिरलै छ तर निधिका पक्षमा पहाडी क्षेत्र र संस्थापन इतरबाट पनि उल्लेख्य समर्थन जुट्ने अनुमान भने गर्न सकिन्छ । ) तर, संस्थापन इतरले उनलाई विश्वासमा लिन कुनै प्रयास कसैले गरेको देखिएको छैन । देउवालाई हराउने रणनीति निधिलाई पन्छाएर सफल हुन सक्तैन ।

आआफ्ना डर !

अगिल्लो चुनावमा सभापतिमा उमेदवारी नदिएको भए सिटौला अहिले शीर्ष नेतामध्येमा गनिने थिएनन् । उनी अरू पूर्वमहामन्त्रीजस्तै मनोनीत केन्द्रीय सदस्यमात्र हुनेथिए । यस्तै रामचन्द्र पौडेललाई पनि सभापतिमा उमेदवारी नदिए संस्थापन इतरको नेता नरहने डर लागेको हुनसक्छ । यसैले सिटौला र पौडेलले राजनीति जोगाउन पनि सभापतिमै उमेदवारी दिनुपर्ने ठान्नु स्वाभाविकै हो । डा.शेखर कोइराला र विमलेन्द्र निधि पनि पछि फर्कन नमिल्ने गरी अगाडि बढिसकेको देखिएको छ । प्रकाशमान सिंहले पनि अहिलेसम्म सभापतिमा उमेदवारी दिने अडान राखेकै छन् । 

सुजाता र शशांकका सम्बन्धमा केही अनुमान गर्न नसके पनि कल्याण गुरुङले मैदान छाड्लान् जस्तो लाग्दैन । (‘ठूला नेता’ले बेवास्ता गरेका तरुण कल्याण गुरुङले जितिहाल्न त नसक्लान् तर हराउन सक्छन् । यी गर्भे कांग्रेसले पार्टीको नयाँ पुस्ता र जनजाति तथा मधेसी समुदायबाट विशेष समर्थन पाउन सक्छन् ।  लामो राजनीति गर्न पनि उनले आफ्नो ठाउँ त बनाउनै पर्छ ।) अर्थात्, स्थिति सबैतिरबाट देउवाका लागि अनुकूल बनेको छ । 

नेतापुत्रको अभियान

हुनत, विमलेन्द्र, प्रकाश र शशांकको सहकार्यको सम्भावनाले पुराना र नयाँ कांग्रेसजनमा उत्साह बढाएको थियो । यिनले संयुक्तरूपमा केही गरे कांग्रेसभित्र त्यो प्रभावकारी पनि हुनसक्थ्यो । तर, यिनीहरू मिल्न सक्ने लक्षण देखिएन । अहिले त यिनको अभियान पनि थामिएजस्तो छ । यसको पनि लाभ त देउवालाई नै हुन्छ । निधिको सम्पर्क कार्यालय उद्घाटनमा संस्थापन इतरका केही जिल्ला सभापति पुगे पनि अरू नेता देखिएकाे समाचार छैन ।

अप्ठेरामा जिल्लाका सभापति 

क्रियाशील सदस्यताको विवाद सुल्झिएको समाचार सार्वजनिक भएको थियो । सिटौलाले देउवा र पौडेललाई प्रतिवेदन बुझाएको तस्बिर त सञ्चार माध्यमले पक्कै ‘फोटोसप’ गरेका हैनन् होला । अहिले पौडेल र सिटौलालाई नेता मान्ने केही जिल्लाका पार्टी सभापतिहरू क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने माग राखेर धर्नामा छन् । सभापतिहरूले आफ्नै जिल्लाका सदस्यको नाम पनि थाहा नपाउने कस्तो लाजमर्दो र डरलाग्दो अवस्थामा पुगेछ कांग्रेस !

चङ्ख नेताः ‘हुस्सु’ कि ‘धोकेवाज’

सभापतिहरूका बाध्यता होलान् तर यो पटक्कै शोभनीय भएन । आफूसँग एकप्रति पनि नहुने प्रतिवेदन बुझ्ने र बुझाउने कस्ता ‘हुस्सु’ नेताका पछि लागेका हुन्? क्रियाशील सदस्यतामा विवाद भएकैले समिति र थप कार्यदल बनाइएको हैन? कम्तीमा सिटौला वा डा. मीनेन्द्र रिजालजस्ता चङ्खहरूले त ‘डीजिटल कपी’ नै भए पनि अन्तिम नामावली  राखेकै होलान् नि ! राखेका छैनन् भने स्पष्टै छ, उनीहरूको सभापति देउवासँग मिलोमतो छ र जिल्ला सभापतिहरूलाई धोका दिएका हुन् । उहिलेका कांग्रेस त नेतासँग सबालजबाफ गर्थे रे । अहिले कांग्रेसमा पवनपुत्रको हंस पसेको हो ?  baahrakhari