April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

निष्ठुरी समाजमा स्वाथ्यकर्मीको पीडा

  • आत्माराम पाण्डे 

कोरोना महामारीको पीडाबाट मुलुक अझै मुक्त हुन सकेको छैन । संक्रमण र मृत्युको खबरले जनमानसमा भय र निराशा व्याप्त छ । सरकारको अदूरदर्शी कार्यशैलीले खोपको अनिश्चितता बढेको छ । 

Advertisement

महामारी नियन्त्रणका नाममा लागू भएको निषेधाज्ञाबाट नागरिकहरु घरभित्रै सीमित हुन विवश छन् । बजार भाउ आकाशिएको छ । दैनिक ज्यालामजदुरी गर्ने कामदारलाई निर्दयी भोकले सताइरहेको छ । रोजगार गुमाएकाहरुको घरमा चुलो बल्न सकेको छैन । शिक्षण संस्थाहरु बन्द हुँदा विद्यार्थी निसासिएका छन् । 

Advertisement

पढ्न नपाउँदा केटाकेटी बरालिए भने अभिभावकमा चिन्ता बढेको छ । आर्थिक गतिविधि नबढ्दा सरकारमा जम्मा हुने राजस्व खुम्चिएको छ । जनजीवन अस्तव्यस्त छ । अस्पतालहरु महामारीका बिरामीले भरिएका छन् । दुर्गममा कोरोना परीक्षण गर्न नपाएर घर घरमै रोग बोकेर बस्न बाध्य छन् । परीक्षण गर्न अवसर पाएकाले पनि नतिजा थाहा पाउन हप्तौँ पर्खन छन् । भोक टार्न रोग पचाएर पनि हजारौं नेपाली सीमा पारी जान विवश छन् । महामारी नियन्त्रणमा संघ, प्रदेश र स्थानीय सरकारका प्रयास अपर्याप्त छन् । अस्पतालमा भर्ना नपाएर अक्सिजन अभाव र उपचारका लागि हार गुहार नपाएर ज्यान गुमाउनेको दुःखद खबरले अखबारका पाना भरिएका छन् । 

परिस्थिति ज्यादै असहज छ । दुरदराजका गाउँमा स्वास्थ्य केन्द्र त छ तर आवश्यक औषधि तथा उपकरण छैन । उपकरण पुग्दा जनशक्ति छैन । यही अप्ठेरामा पनि अहोरात्र बिरामीको उपचारमा खटिइरहेका छन् बिचरा स्वास्थ्यकर्मी । तर, निष्ठुरी समाज उनीहरुको त्याग र संघर्ष देख्दैन । उनीहरु अग्रपंक्तिमा रहेर महामारी नियन्त्रणमा सैन्य दस्ताझैँ लडिरहेका छन् ।

चिकित्सक नर्स र अन्य स्वाथ्यकर्मीहरु आफू मरेर अरुलाई बचाइरहेका छन् । महामारीकै कारण ३९–४० जना स्वास्थ्यकर्मीले ज्यानै गुमाइसके । 

तथ्यांक भन्छ, संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या नौ हजार पुग्न लागिसकेको छ । जोखिम भत्ता निकासा गर्न अर्थ मन्त्रालय आनाकानी गर्छ । भत्ता पाउने त कुरा छाडौँ, कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वाथ्य मन्त्रालय भर्खरै तथ्यांक संकलन गर्दैछ ।

उपचारमा खटिएर पनि मास्क पन्जा, पीपीईको पर्याप्त छैन । खानु, पिउनु र सुत्नुको ठेगान छैन । दरबन्दीअनुसारको जनशक्ति छैन । डबल ड्युटी गरेर अस्पतालको सेवा धान्ने उनीहरुको नियति बनेको छ । 

महामारी सुरु भएदेखि स्वास्थ्यकर्मीका दुर्दिन सुरु भएका छन् । भाडामा कोठा पाउन समस्या परिरहेको छ । स्वास्थ्यकर्मीलाई भाडामा कोठा दिने घरधनी घेराउमा परेका छन् । संक्रमणको डरमा परिवार समाज साथीभाई आफन्तबाट टाढिएका छन् ।

नेपालगञ्जमा डाँकाको शैलीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । सुर्खेतमा भर्खरै आयुर्वेदिक चिकित्सकमाथि हातपात भएको छ । ठाउँठाउँमा स्वास्थ्यकर्मी चढेको मोटरमा ढुंगा हानिएको छ । स्वास्थ्य संस्थाहरुमा कमजोर भौतिक पूर्वाधारका बीच काम गर्नु परिरहेको छ । 

उपचारको भरपूर प्रयास हुँदाहुँदै पनि प्रयास असफल हुन्छ । बिरामी मर्छन् । अनि स्वाथ्यकर्मीमाथि ढुंगा बर्सन्छ । भागाभाग गरेर ज्यान बचाउनुपर्ने हुन्छ । कति निकृष्ट र निर्दयी छौँ हामी यस समाजका नागरिकहरु । सबै डाक्टरलाई ‘द्रव्य पिसाच’को दर्जा दिन्छौँ । नर्सहरुलाई बिरामीसँग रुखो व्यवहार गरेको आरोप लगाउँछौँ । संक्रमण सुरु भएदेखि अधिकांश स्वाथ्यकर्मीले अस्पतालको वास, क्यान्टिनको खानामा चित्त बुझाउनु परेको छ । रातभरको अस्पतालको पहरेदारीमा निद्रा हराएको छ । नुहाइ धुवाइ गर्नेसम्मको फुर्सद पनि मिलेको छैन । आखिर उनीहरु पनि त मान्छे नै हुन् । कति मानसिक तनाव बोझ र उल्झन बोकेर पनि सेवा दिइरहेका छन् ।

कोभिड नियन्त्रणको कार्यक्रम सबै तहका सरकारको प्राथमिकतामा परेको छ । अध्यादेशबाटै भए पनि स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख जरिवाना गर्ने तथा स्वास्थ्य संस्थाको घेराउ गर्नेलाई एक वर्षसम्मको कैद हुने व्यवस्था भएबाट सुरक्षाको आशा पलाएको छ । 

कानुनी प्रावधानबाट संरचना तयार हुन्छ तर तयारीको क्रममा सम्बन्धित सरोकारवालालाई नै गुमराहमा राखिन्छ । एकैवर्षमा तीनचोटी स्वास्थ्यमन्त्रीको हेरफेर हुन्छ । महामारी नियन्त्रणको जिम्मेवारी सम्हालिसकेका मन्त्रीलाई किन पजनी गर्ने यस प्रश्नको जवाफ प्रधानमन्त्रीसँग नागरिकले खोजिरहेका छन् । 

संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्यसेवा पाउने मौलिक हकको पहुँचमा सरकार बारम्बार चुकिरहेको छ ।

स्वास्थ्यकर्मीलाई लगाम कसेर काममा लगाउने होइन । उनीहरुको मन जितेर दुःखसुखमा साथ दिएर संरक्षणको भूमिकामा हुनुपर्र्छ स्वास्थ्य मन्त्रालय । 

पर्याप्त गृहकार्य नगरी स्वास्थ्य सेवा सम्बन्धी कार्यविधि जारी हुन्छ । सबै स्वास्थ्य केन्द्रमा एक चिकित्सकको स्वागत हुन्छ तर सरकारी चिकित्सकलाई बाहिर काम गर्न नपाउने गरी राखिएको बन्देजमा विरोधका आवाज उठेका छन् । 

उच्च व्यावसायिक मर्यादामा रहेर काम गर्ने नैतिक वातावारण तयार गर्नुको साटो आदेशात्मक र नियन्त्रणात्मक कार्यशैली अपनाइन्छ । 

आसन्न महामारीको संकटापन्न परिस्थितिमा युद्धरत सैनिक झैँ खटिएका स्वास्थ्यकर्मीको सेवा र समर्पण भावको उच्च मूल्यांकन त परै जाओस् कृतज्ञताका शब्द उच्चारण गर्न पनि हाम्रो समाज हिचकिचाइरहेको छ । ठूलाबडा सम्मानित हुन्छन्, विभूषण, अभिनन्दन पत्रहरु ओइरिन्छन् । पत्रपत्रिकामा बधाई छापिन्छन् । तर, स्वास्थ्यकर्मीका पीडा पनि कसैले सुन्दैन । उनीहरुको सेवा सुविधा सहुलियत र वृद्धि विकासमा समय सापेक्ष सुधार गरिँदैन । जीवन रक्षा गर्ने व्यक्तिहरुप्रति सम्मान भावको सकारात्मक सोच पाइँदैन । 

स्वास्थ्यकर्मीका यस्तै पीडाका अन्तरालमा युवा विद्यार्थी, अदिति घिमिरेको आँखा पुग्छ । उनी सुहृद घिमिरे र रेखा घिमिरेकी छोरी हुन् । जो समाजसेवामार्फत स्वास्थ्यकर्मीको मनोबल बढाउन चाहन्छिन् । 

मन पग्लिन्छ र हृदय द्रविभूत हुन्छ । यस्तो महामारीमा खटिने स्वास्थ्यकर्मीहरुमध्ये उत्कृष्ट ठहरिएका एक सय जनालाई एक एक लाखका दरले पुरस्कृत गर्ने पुनित संकल्प हुन्छ । आफ्ना आमाबुबाबाट छोरीको यस्तो पवित्र सोच र सेवा भावलाई स्रोत व्यवस्थापन गरी साकार रुप दिएर एउटा उदाहरणीय कदमको सुरुआत भएको छ । 

वास्तवमा यस संकटको घडीमा खटिने स्वास्थ्यकर्मीहरुप्रति हेय र उपेक्षाको भाव होइन, अहोभावको साथ कृतज्ञता अर्पण गरौँ । उनीहरुको महानताको कदर गर्दै सम्मान स्वरुप यो कविता पनि : 

मैनवत्ती जलि आफैँ, अरुमा दिप्त गर्दछन् 
सेवा र त्यागका मूर्ति, स्वास्थ्यसेवी पीडित छन् । 
कसले सुन्छ र त्यो पीडा, संक्रमित भइ तिनी 
सेवामा छ अहो भाव, बचाइ आफू मर्दछन् ।।

(नेपाल सरकारका पूर्वसचिव ) by baahrakhari