August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

जय हनुमान !

प्रस्तावना: यस लेखलाई यथाशक्य सन्देशमूलक अनि सूचनामुलक बनाउने आशय गरिएको छ। कृपया यो लेख पढिसकेपछि हनुमान शब्द नकारात्मक लक्ष्यार्थमा प्रयोग नगरिदिनुहोला। 

श्रीगुरु चरन सरोज रज निज मनु मुकुरु सुधारी। 

बरनउँ रघुबर बिमल जसु जो दायकु फल चारि।।  

बुद्धिहीन तनु जानिके सुमिरौँ पवन – कुमार। 

बल बुधि बिद्या देहु मोहिं हरहु कलेस बिकार।।  

हामी दिनहुँजसो सामाजिक सञ्जाल वा  प्रत्यक्ष कुराकानीहरुमा हनुमान शब्द प्रयोग भएको देख्छौँ, सुन्छौँ। प्राय: यो ‘हनुमान’ शब्द नकारात्मक लक्ष्यार्थमा  राजनीतिक कार्यकर्ता, नेताका सहयोगी, दुराचारी वा अपराधीका समर्थक आदिलाई व्यापक प्रयोग हुने गर्दछ। तुलनात्मक रुपले अहिले यस शब्दको प्रयोग अलि कम भएको हो कि जस्तो लाग्छ तर प्रयोग गर्न सम्पूर्ण रुपले त्यागिएको भने हैन। यसको बदलामा कट्टप्पा, साइबर सेना, अरिंगाल जस्ता शब्दले ठाउँ पाएको छ। परन्तु , कहिलेकाहिँ जानेमाने बुद्धिजीवी, पत्रकार, नेताहरुले ‘हनुमान ‘ शब्दको बडा सहजताका साथ् दुरुपयोग गरेको देख्दा उदेक लाग्छ। कोही जानाजान भन्छन्, कोही बुझ पचाएर भन्छन्, अरु बाँकी नबुझेकाहरु त् पछिपछि हुने भइहाले। ती कुत्सित मनसाय राख्ने दुर्बुद्धि- बुद्धिजीवी परजीवी हुन् र यिनीहरुले स्थापित गर्न खोजेको वैचारिक जालको प्रतिजिवी यथासक्य छिटो लागुगर्न अत्यावश्यक छ।

 को हुन् हनुमान?

देवताका पनि देवता महादेवको ११ वटा रुद्र छन्। तिनै रुद्र मध्येको उच्चतम रुप हनुमान हो, अर्थात वायुपुत्र हनुमान महादेवको अवतार हो।

रामचरित मानसमा हनुमानजीलाई माहावीर भनिएको छ। वीर भन्नाले पाँच लक्षण युक्त हुनु पर्ने भनिएको छ। बिद्या-वीर, धर्म-वीर, दान -वीर, कर्म- वीर र बल- वीर। भगवान राम यी सबै लक्षणयुक्त हुँदाहुँदै पनि हनुमानजीले भगवान रामलाई पनि आफ्नो वशमा पारेकाले महावीर भनिएको हो।

हनुमानजी शक्ति, भक्ति र ऊर्जाको प्रतिक हुनुहुन्छ। अधर्मको बिरुद्ध विजय हासिल गर्न सक्ने क्षमता हनुमानजीमा निहित छ। हनुमानजी  कलावाज – कुस्तिवाजमा पनि निपुण अनि  ध्यान, ज्ञान र राष्ट्रियताको प्रतिक मानिन्छ।

हनुमानजी, धर्म र अधर्ममध्ये धर्मको पक्ष , मर्यादा र अमर्यादा मध्ये मर्यादाको पक्षमा उभिनु भएको छ। उहाँ चारै वेद, उपनिषद् अनि अरु अनेक शास्त्रको ज्ञाता हुनु हुन्थ्यो।

रामायणको एक अध्यायमा हनुमानजीको नि: स्वार्थ भक्तिको वर्णन गरिएको छ। लंकाको युद्धमा रावणलाई परास्त गरेर राम, सीता, लक्ष्मण र हनुमानजीको अयोध्या वापसी हुन्छ। अयोध्यामा श्री रामले राज्य अभिषेक पश्चात सबै सहयोगी – संगीहरुलाई उपहार दिनुहुन्छ।  किन्तु हनुमानजीले उपहार अस्वीकार गर्नु हुन्छ। उपहारमा प्राप्त मोती टोक्दै, फ्याँक्दै गर्नुहुन्छ।  यो दृश्य देखेर आश्चर्य अनि क्रोधित हुदै सभामा उपस्थित अधिकारीहरुले श्री रामको अपमान नगर्न अपिल गर्छन। तब हनुमानजीले आफुले त्यस मोतीको गेडामा श्रीरामलाई खोजेको तर नभेटेको प्रतिक्रिया दिनुहुन्छ। ततपश्चात आफ्नो छाती चिरेर राम -सीताको छवि प्रकट गर्नुहुन्छ, जसले एक सच्चा भक्तको चित्रण गर्दछ।

हनुमान नाम कसरी रहन पुग्यो?

हनुमानजीले  केशरी र अन्जनाको पुत्रको रुपमा जन्म लिनुभयो, त्यसैले हनुमानजीको बाल्यकालमा नाम अन्जन्ये वा अन्जनी पुत्र रहन गयो। तर पछि युवाकालमा हनुमानजीले सूर्यलाई पाकेको आप ठानेर आकाशतिर जाँदै गर्दा इन्द्रदेवले बज्र प्रहार गरेर रोकेको कथनी छ। यसले गर्दा हनुमानजीको बङ्गारा विकृत भएको थियो। त्यसैले उहाँको नाम हनुमान (हनुमन) रहन गएको हो। संस्कृतमा ‘हनु’ को अर्थ बङ्गारा र ‘मन’ को अर्थ विकृत हुन्छ।

थाहा पाएर वा बुझ पचाएर ‘हनुमान ‘ शब्दको दुरुपयोग गर्ने दुर्बुद्धिहरु भने पारगामीको भेषमा रहेका परोपजीवी हुन्। यिनीहरुलाई सामाजिक सञ्जालीय भाषामा ‘फण्डित’ पनि भनिन्छ। ‘फण्डित’ भन्नाले जो अरुबाट पालित-पोषित छ, जो अर्काले दिएको खाएर जीविका गर्छ वा अर्काको भरमा बाचेको हुन्छ। यिनीहरु छद्मावरणमा धर्म, संस्कृति, मूल्य-मान्यता, परम्परा, इतिहासको विरासत आदि छेदनमा माहिर हुन्छन्। यिनीहरु मुखमा रामराम भन्दै बगलीबाट छुरा हान्ने किसिमका हुन्छन्।

फलत इन्द्रदेवले गरेको गल्तीको कारण प्रत्यक देवताबाट हनुमानजीलाई एउटा – एउटा बरदान प्राप्त भयो। इन्द्रदेवले आफ्नो अस्त्र बज्रको जस्तै बलियो शरीर हुने, अग्निदेवले अग्नि निष्प्रभावी, वरुणदेवले वरुण निष्प्रभावी, वायुदेवले वायुजस्तै तेजवान, ब्रम्हदेवले जुनसुकै ठाउँ जान सक्ने र विष्णुदेवले अस्त्र ‘गदा’ बरदान दिएको विवरण रहेको छ।

शास्त्रनुसार हनुमानजीका विलक्षण विशेषता सहितका १०८ नाम रहेका छ। जस्तै – बज्रंगवली , संकटमोचन , महावीर आदि।

गलत चित्रणको नतिजा

सद्गुरुले एक प्रसंगमा हनुमानजीको बर्णन गर्ने क्रममा हनुमानजी बाँदर नभएर दक्षिण भारतीय (तमिल) समुदायको रहेको जिकिर गर्नु भएको छ। राम-लक्ष्मण सीताको खोजीमा भौतारिँदै अहिलेको दक्षिण भारतमा पर्ने किस्किंदा राज्यमा पुग्दा तमिलहरुसँग भेट भएको थियो। किस्किंदा त्यही राज्य हो जहाँको राजा सुग्रीव थिए र हनुमानजी त्यस राज्यको मन्त्री। तिनै तमिल सेनाको साथ् सहयोगले श्री रामले रावणको अन्त्य गरेर लंकाबाट  पत्नी सीतालाई मुक्त गर्नु भएको थियो।

सद्गुरुका अनुसार त्यसबेलाका तमिलहरुले  भगवान यही पृथ्वीमा हुने मान्यता राख्थे। उनीहरुको भगवान माथि आकाशमा हैन , बरु यही पृथ्वीमा हुने विश्वास थियो। जबकि अहिले मानिसहरु यो पृथ्वीभन्दा पनि राम्रो अर्को कुनै ठाउँ रहेको स्वर् कल्पनामा रमाउने गर्छन्। उनको अनुसार , तमिलहरुमा अन्तर्निहित प्रतिबद्धता हुने र भक्तिभावको सुसंस्कृत विशेषता रहने बताउनुहुन्छ। तिनै तमिलहरुले समर्पणसहित रामको पक्षमा युद्ध लडे र विजय प्राप्त गरे। तिनै मध्येका एक तमिल हुनुहुन्थ्यो, हनुमानजी।

त्यसो भए पनि, रामायणकाल पश्चात केही अपारगामी मानिसहरुले दक्षिण भारतीय तमिलहरुलाई बाँदर चित्रित गरे। फलस्वरुप हनुमानजी जस्तो परमनायक त्यस गलत चित्रणको सिकार बन्नुपर्‍यो।

कस्तालाई हनुमान भन्ने ?

गुरु डा. निर्मलमणि अधिकारीका अनुसार जसले अति बलशाली काम गर्छ, जो हरेक परिस्थितिमा धर्मको पक्षमा, सत्यको पक्षमा उभिन्छ, जसले आफ्नो आस्था , बिश्वासको लागि पूर्ण समर्पण गर्छ, त्यस्ता व्यक्तिलाई मात्र हनुमान भन्नु पर्दछ। अझ , कसैलाई हनुमानको संज्ञा दिँदा सम्मान गरेको हो भन्ने अर्थ लाग्नु पर्दछ।

बरु चण्डमुण्ड भनौँ

अहिले चल्तीको जस्तो डन, फटाहा, दलाल, दुराचारी, दुष्ट-सेवक आदिलाई हनुमान भनेर नकारात्मक लक्ष्यार्थमा प्रयोग गर्नु केवल मनोविकार हो। बरु यस्ता व्यक्ति वा प्रवृतिको समर्थन गर्ने, पक्षमा लेख्ने, बोल्ने वा भौतिक हमला गर्ने अन्धभक्तहरुलाई चण्ड- मुण्ड भन्नु पर्दछ। चण्ड- मुण्ड राक्षसी शक्तिका सहायक हुन् र आफ्नो अर्कोप्रति शत्रुता के छ (छैन ) केही पर्वाह नगरी आक्रमण गर भन्दा गर्ने, पाप- धर्मको ख्याल नगरी अरुबिरुद्ध जाइलाग्ने आततायीहरु हुन्।

हनुमान कस्ताले नकारात्मक लक्ष्यार्थमा प्रयोग गर्छन्?

अरुको लहलहैमा लागेर, हनुमानजीको महिमा नबुझेर भन्ने हरुले पनि अबदेखि गलत लक्ष्यार्थमा हनुमानको संज्ञा दिन बर्जित गरौँ।

यद्दपि, थाहा पाएर वा बुझ पचाएर ‘हनुमान ‘ शब्दको दुरुपयोग गर्ने दुर्बुद्धिहरु भने पारगामीको भेषमा रहेका परोपजीवी हुन्। यिनीहरुलाई सामाजिक सञ्जालीय भाषामा ‘फण्डित’ पनि भनिन्छ। ‘फण्डित’ भन्नाले जो अरुबाट पालित-पोषित छ, जो अर्काले दिएको खाएर जीविका गर्छ वा अर्काको भरमा बाचेको हुन्छ। यिनीहरु छद्मावरणमा धर्म, संस्कृति, मूल्य-मान्यता, परम्परा, इतिहासको विरासत आदि छेदनमा माहिर हुन्छन्। यिनीहरु मुखमा रामराम भन्दै बगलीबाट छुरा हान्ने किसिमका हुन्छन्। जस्तै, भारुराम, डलरमणि, युरोकुमार, युआनसिंह आदि। मुखमा अन्न नपरुञ्जेल चकमन्न, तर मुखमा अन्न परेपछि सन्न हुने यिनका विशेषता हुन्।  यी आम-मानिसलाई वैचारिक जालमा बेर्न र समयानुकुल काँचुली फेर्न सिपालु हुन्छन्।

तसर्थ

अब आइन्दा यी र यस्ता वैचारिक जाल तोडेर, कुनैपनि स्थितिमा ‘हनुमान’ शब्दको नकारात्मक लक्ष्यार्थमा प्रयोग नगरौँ। यो मात्र हैन, यस्ता धर्म -संस्कृति, परम्परा वा इतिहासप्रति अपमान गर्ने कुनै पनि शब्द ,शैली वा स्थितिको समर्थन नगर्ने समर्थता राखौं।

जय हनुमान !! By deshsanchar