January 25, 2025, Saturday
२०८१ माघ १३

विश्वकप छनोटमा नेपालको जित, अन्जन र नवयुगको गोल

विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले चाइनिज ताइपेईविरुद्ध दुवै खेल जितेको छ।

कुवेतमा बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हरायो। नेपालको जितमा नवयुग श्रेष्ठ र अन्जन विष्टले गोल गरे। यसअघि चाइनिज ताइपेईविरुद्ध भएको पहिलो खेलमा पनि नेपाल २-० गोलले हराएको थियो।

Advertisement

समूह बीमा रहेको नेपाल ६ खेलबाट  ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। चाइनिज ताइपेई ६ खेलबाट अंक नजोडी समूहको पाचौँ तथा अन्तिम स्थानमा छ। नेपालले अब जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ। चौथो मिनेटमा अन्जनले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए।

डिबक्सभित्र चाइनिज ताइपेईका खेलाडीको हातले बल छोएपछि नेपालले पेनाल्टी प्रहारको मौका पाएको थियो। अन्जनले यो व्यक्तिगत चौथो अन्तर्राष्ट्रिय गोल हो। यसअघि चाइनिज ताइपेईविरुद्ध भएको पहिलो खेलमा दुवै गोल अन्जनले गरेका थिए। केही दिन अघि इराकविरुद्ध भएको मैत्रिपूर्ण खेलमा पनि अन्जनले गोल गरेका थिए।

दोस्रो हाफमा मैदान छिरेका नवयुगले अन्त्यतिर गोल थपेका हुन्। उनले करिब तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। उनको यो व्यक्तिगत सातौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले लगातार सिनियर अन्तर्राष्ट्रिय खेलमा गोल गरेको हो।

केही महिनाअघि नेपालमै भएको त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध गोल गर्दै नेपालले १८ महिनायताको गोल खडेरी अन्त्य गरेको थियो। त्यसपछि इराकविरुद्ध पनि गोल गरेको हो।

चाइनिज ताइपेईविरुद्ध प्राप्त यस जितले नेपाल समूहमा चौथो हुने लगभग निश्चित भएको छ। समूहमा हरेक टोलीले ८/८ खेल खेल्छन्। ४ खेल खेलेको अस्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ। जोर्डन र कुवेतको ५ खेलबाट समान १० अंक छ। समूहको चौथो स्थानमा रहेमा एसिया कपका लागि छनोटको तेस्रो चरणमा छानिने सम्भावना रहन्छ।

विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ८ समूहका चार वटा बेस्ट चौथो टोलीले एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउँछन् भने बाँकी चार वटा चौथो टोली र पाचौँ स्थानमा रहने टोलीले एसिया कप छनोटमा पुग्न प्ले अफ खेल्नुपर्ने छ।