August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

लुम्बिनी र महाराजगन्ज प्रेस क्लबबीच शनिबार मैत्रीपूर्ण क्रिकेट हुँदै

Advertisement

भैरहवा– रुपन्देहीको सिमावर्ती नेपाल र भारतका सञ्चारकर्मीबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले शनिबार तेस्रो भारत–नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ ।

Advertisement

लुम्बिनी प्रेस क्लब र भारतको नौतनवामा रहेको प्रेस क्लब अफ महाराजगन्जबीच मैत्रीपूर्ण क्रिकेट स्पर्धा हुन लागेको हो । शुक्रबार प्रेस क्लब अफ महाराजगन्जले नौतनवामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर मैत्रीपूर्ण प्रतिस्पर्धाबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा शनिबार बिहान ८ बजेदेखि भारतको नौतनवामा क्रिकेट हुने जानकारी गराइएको थियो ।

उक्त खेलका लागि दुवै प्रेस क्लबका टिम तयारी अवस्थामा रहेको जनाइएको थियो । प्रेस क्लब अफ महाराजगन्जका अध्यक्ष अमित त्रिपाठीले लामो समयदेखि दुबै मुलुकका प्रेस क्लबबीच रहेको सुमधुर सम्बन्ध थप मजबुत तुल्याउन खेल आयोजना गरिएको जनाए । त्रिपाठीले खेलकुदका माध्यमबाट दुई मुलुकका पत्रकारबीच भाइचारा बढ्ने विश्वास व्यक्त गरे ।

‘खेलले पत्रकारबीचको सम्बन्ध मात्र नभएर नेपाल र भारतबीच सदियौँदेखि चलिआएको ‘रोटी–बेटी’ को ऐतिहासिक सम्बन्धलाई समेत थप मजबुत बनाउनेछ,’ उनले भने, ‘त्यसैले प्रत्येक वर्ष निरन्तरता दिँदै आएका छौं ।’

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दुई मुलुकका सञ्चारकर्मीबीचको सहकार्य र मित्रताका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताए । महाराजगन्जको खेल पश्चात् छिट्टै नेपालमा पनि दुई क्लबबीच यस्तै मैत्रीपूर्ण खेल आयोजना गरिने उनले प्रतिबद्धता जनाए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त स्पर्धाको ट्रफी सार्वजनिक गरिएको थियो ।

दुबै क्लबका अध्यक्षले विजेता र उपविजेता टोलीलाई प्रदान गरिने आकर्षक ट्रफी सार्वजनिक गरेका थिए । प्रेस क्लब अफ महाराजगन्जका अध्यक्ष त्रिपाठीले खेल हेर्न सञ्चारकर्मीसँगै अन्य दर्शक उपस्थित हुने बताए । खेल अवलोकनका लागि महाराजगन्जका जिल्ला अधिकारीसँगै उच्च पदस्थ व्यक्तिको सहभागीता रहने छ । दुई मुलुकका पत्रकारबीच सम्बन्धलाई खेलमार्फत नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ यो मैत्रीपूर्ण शृङ्खला विगतदेखि आयोजना हुँदै आएको छ ।