August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

सुरेन्द्र बर्माले जिते दोस्रो मिस्टर कपिलवस्तुको उपाधि

Advertisement

कपिलवस्तु– कपिलवस्तुमा सम्पन्न भएको ‘दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिता’को उपाधि सुरेन्द्र बर्माले जितेका छन् । तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’को टाइटल हात पारेका हुन् ।

Advertisement

प्रतियोगितामा चार तौल समूहमा २५ खेलाडीवीच प्रतिस्पर्धा भएको थियो । ६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए । त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । समूहगत बिजेताको अन्तिम प्रतिस्पर्धामा ६५ केजी समूहबाट बिजेता बनेका सुरेन्द्रले अन्यलाई पछि पार्दै ओभरअल च्याम्पियन बने । बिजेता बनेसँगै उनले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र हात परे । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन् ।

६५ केजी समूहमा पावर जिमका शैलेन्द्रप्रसाद कसौधन दोस्रो र बुद्ध जिमका योगमणि तिवारी तेस्रो बने । ७० केजी समूहमा हेल्थ फिटनेसका विकास श्रेष्ठले स्वर्ण पदक जिते । पावर जिमका सुग्रीव कुर्मी दोस्रो र हेल्थ फिटनेसकै बिरु यादव तेस्रो स्थानमा रहे ।

७५ केजी समूहमा हेल्थ फिटनेसका ईश्वर पुन प्रथम, पावर जिमका मोहम्मद इस्तेखार हलवाई दोस्रो र एमएनएस जिमका शैलेन्द्र श्रीमल तेस्रो हुन सफल भए । विजेता खेलाडीहरूलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितुप्रसाद श्रेष्ठ, छैठौं धर्म श्री बिजेता जीवन गिरी, आयोजक संस्था कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष कृष्ण थापा, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, वडाअध्यक्ष प्रकाश गैरेले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

शारीरिक सुगठन खेलको विकास र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सचिव मनिष कार्कीले बताए । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक केशवबहादुर शाक्य, बरिष्ठ निर्णायक शिवध्वज राई र राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।