वैद्य भन्छन्– संविधान संशोधन होइन खारेज गर्नुपर्छ

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समितिले अहिलेको संविधान पूर्ण रूपमा खारेज गरी जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द पार्न आह्वान गरेको छ ।
‘त्यसकारण समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधान निर्माण हो,’ किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
अहिलेको राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको नभएर प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम रहेको संयोजक किरणको ठहर छ ।
‘त्यसकारण, देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडा गरेर समाधान हुन सक्दैन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यसमाथि, संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरूका बिचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरा प्रस्ट गरेको छ ।’
जोसँग र जस्तो गठबन्धन गरेर भए पनि सत्तामा पुग्नै पर्ने नेपाली संसदीय राजनीतिले भ्रष्टाचारलाई संस्थागत गर्ने, देशलाई थप कङ्गाल र अझ बढी परनिर्भर बनाउने कुरामा कुनै शङ्का नरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस्