April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

महाधिवेशनका लागि गठित समितिमा देउवाको एकलौटी

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । आइतबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले मूल तयारी समितिका साथै अन्य विभिन्न समिति पनि गठन गरेको छ ।

Advertisement

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मूल आयोजक समितिमा सबै केन्द्रीय समितिका सदस्यहरू पदेन सदस्य रहनेछन् । बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन, प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रचार प्रसार समिति गरेको छ । यस्तै सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ ।

Advertisement

महाधिवेशनमा विदेशी पाहुनाहरूलाई स्वागत सत्कार गर्ने समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दिइएको छ । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा स्वास्थ्य समिति र सांस्कृतिक समितिको संयोजक केन्द्रीय सदस्य सीता गुरुङलाई तोकिएको छ । सदस्य छनोटको अधिकार संयोजकलाई नै दिइएको छ ।

काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई मञ्च व्यवस्थापनको नेतृत्व दिइएको छ । मञ्च व्यवस्थापन समितिमा ललितपुर र भक्तपुरका जिल्ला सभापति सदस्य रहेका छन्। जिल्ला सभापति बानियाँ बाहेक संस्थापन पक्षका नेतालाई मात्र समिति संयोजक बनाइएको छ । प्रदेश अधिवेशन समन्वय समिति गठन गर्दा पनि देउवा समूहलाई चार, रामचन्द्र पौडेल समूहलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एक प्रदेश संयोजक दिइएको छ । 

प्रदेश नम्बर १ को संयोजकको जिम्मेवारी नेता सिटौलालाई र प्रदेश नम्बर २ को जिम्मेवारी रमेश रिजाललाई दिइएको छ । बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई  प्रदेश अधिवेशन समन्वय संयोजक तोकिएको छ ।

रिजाल, खाण, शाही र श्रेष्ठ देउवा समूहबाट प्रदेश अधिवेशन समन्वय संयोजक बनेका हुन् भने सिंह र बडूले पौडेल समूहको प्रतिनिधित्व गर्छन् । सिटौला समूहबाट उनी आफै प्रदेश एक संयोजक बनेका छन् । काँग्रेसले मंसिर १६- १७ गते प्रदेश अधिवेशन र मंसिर २४ – २६ गते महाधिवेशन गर्न लागेको छ ।