October 15, 2024, Tuesday
२०८१ आश्विन २९

कांग्रेसको प्रदेश कार्यसमिति यसरी चुनिन्छ

 नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ गतेदेखी हुँदै छ। मुलुकमा संघियता कार्यान्वयनमा आएपछि पहिलो पटक कांग्रेसको महाधिवेशन हुन लागेको हो।  

महाधिवेशन अघि अन्य तहका अधिवेसनसँगै पहिलो पटक प्रदेश अधिवेशन पनि हुने छ। कार्यतालिका अनुसार कात्तिक १०, ११ र १२ गते हुने प्रदेश अधिवेशनबाट कांग्रेसको प्रदेश कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, तीन जना सहमहामन्त्री र एक जना कोषाध्यक्षसहित सदस्यहरू रहन्छन्।

Advertisement

सहमहामन्त्री मध्ये एक जना महिला हुनुपर्ने छ। कोषाध्यक्ष निर्वाचित कार्यसमिति सदस्य मध्ये प्रदेश सभापतिले मनोनित गर्ने व्यवस्था छ। कांग्रेसको प्रदेश सभापति हुन १५ वर्ष लगातार क्रियाशिल सदस्य भएको हुनुपर्ने छ। पदाधिकारी तथा कार्यसमिती सदस्यको लागि १० वर्षदेखि क्रियाशिल सदस्य बनेको हुनुपर्दछ। पदाधिकारी बाहेक प्रदेश कार्यसमिति सदस्यको लागि प्रत्यक्ष निर्वाचित र केही मनोनित हुनेछन्।  

जस अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रको कुल संख्याको एक तिहाइ सदस्य कांग्रेसको प्रदेश कार्यसमितिमा प्रत्यक्ष निर्वाचित हुने छन् । लुम्बिनीमा ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । त्यसैले यहाँबाट १७ जना जति प्रत्यक्ष निर्वाचनबाट कार्यसमिति सदस्य निर्वाचित हुने छन् । 

यसबाहेक प्रत्येक जिल्लाबाट एक महिला सहित २ जना निर्वाचित हुने छन् । यस अन्तर्गत १२ महिला र १२ पुरुष गरि २४ जना प्रदेश कार्यसमितिमा पुग्ने छन् । लुम्बिनीमा थप २७ जना जति जनसंख्याको बनोट अनुसार समावेशी आधारमा कार्यसमिति सदस्यमा निर्वाचित हुने छन्। 
कुल कार्यसमिति सदस्यको २० प्रतिसत प्रदेश सभापतिबाट मनोनित हुने विधानमा व्यवस्था छ । यसरी मनोनित गर्दा कार्यसमितिमा एक तिहाइ महिला प्रतिनिधित्व पुग्नुपर्ने र अपांग तथा अल्पसंख्यकको पनि प्रतिनिधित्व हुनुपर्ने छ । प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तिमा एक महिला र एक पुरूष सदस्य हुनुपर्ने विधानको व्यवस्था छ । 

को हुन प्रदेश कार्यसमितिका मतदाता  

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेसनको लागि ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा अधिवेसन प्रतिनिधि, २६ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रबाट केन्द्रिय महाधिवेशनका लागि निर्वाचित महाधिवेसन प्रतिनिधि मतदाताको रुपमा रहने छन्। त्यसै गरि सम्बन्धित प्रदेश भित्रका निवर्तमान केन्द्रिय पदाधिकारी तथा कार्यसमिति सदस्य पनि प्रदेश कार्यसमतिको मतदाताको रुपमा रहने कांग्रेसको विधानमा उल्लेख छ। 

यस्तै प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापतिहरू, प्रदेशका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि मतदाता हुन्। तर भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई मतदानको अधिकार भए पनि उनीहरू प्रदेश कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन भने रोक लगाइएको छ।