April 22, 2025, Tuesday
२०८२ बैशाख ९

कांग्रेस महाधिवेशन भदौमै हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा यही भदौमै हुने बताएका छन्।

सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने एक वक्तव्यमार्फत बुधबार बताएका हुन्। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मित तय गरेको छ। यद्यपि क्रियाशील सदस्यता वितरणको काम सकिइसकेको छैन।

Advertisement

यद्यपि देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएकाले यसमा आफु पूर्ण प्रतिवद्ध भएको बताएका छन्।

उनले भनेका छन्, ‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्।’

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताउँदै उनले पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको बताएका छन्। असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने उनको भनाइ छ।

पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने उनले बताएका छन्।

यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको र पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उनको भनाई छ।

सभापति देउवाले थपेको डेढ वर्षको कार्यकाल सकिने भएकाले भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने हुन्छ।