September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

प्रमुख सचेतक थापाको प्रश्न– जनतालाई सिटामोल छैन, मन्त्रीका लागि हेलिकप्टर ?

Advertisement

भैरहवा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवासुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।

Advertisement

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।

‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ थापाले भनिन्, ‘तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ ।’

उनले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन् । बिहान–बेलुकाको छाक टार्न कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्यास समेत दिन नसकेको अवस्थामा सरकारले गर्ने सुशासनको कुरा खोक्रो भएको उनले दाबी गरिन् ।

मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ । प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने रु के यही हो जनताको सरकार ?’

एकातिर सरकारले ठुला–ठुला एक्सप्रेस–वे (द्रुतमार्ग) का कुरा गर्ने तर अर्कोतिर कर्णालीमा औषधि र राहत समेत नपुग्ने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताइन् । सरकारको यस्तो व्यवहारले कर्णालीबासीले वास्तविक सुशासनको महसुस गर्न नसकेको उनको भनाइ थियो । दुई दिन अघि सुदूरपश्चिमका सडक अनुगमन गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल विरामी परेपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । यही विषयमा थापाले आलोचना गरेकी हुन् ।