August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुनु हुँदैनः सभापति थापा

Advertisement

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् । ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने बताए । उनले राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्नुपर्ने बताए ।

Advertisement

थापाले पछिल्लो एक दशकको नेपाली राजनीति बढी सत्ता केन्द्रित भएको टिप्पणी गरे । ‘सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘पार्टीले आफ्ना स्थापित मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गर्नु हुँदैन ।’ उनले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताए ।

थापाले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढाउन आवश्यक रहेको बताए । पार्टीको वैधानिक संरचनामा युवाहरूको स्थान सुरक्षित गर्न चालिएका कदमहरूबारे चर्चा गर्दै उनले भने, ‘नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवलाई समायोजन गरेर मात्र कांग्रेसलाई थप सबल बनाउन सकिन्छ ।’ उनले नयाँ पुस्तालाई केवल मतदाता वा प्राविधिक कार्यकर्ताका रूपमा मात्र नहेरी उनीहरूको नवीन सोच र दृष्टिकोणलाई पार्टीले आत्मसात गर्नुपर्ने बताए ।

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिनहरू स्मरण गर्दै थापाले २०५१ सालको मध्यावधि निर्वाचनताकाको प्रसङ्ग उल्लेख गरे । तत्कालीन समयमा पार्टीभित्रको आन्तरिक मतभेदका बाबजुद पूर्वप्रधानमन्त्री द्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा ल्याएर कार्यक्रम आयोजना गरिएको अनुभव उनले सुनाए । सोही क्रममा किशुनजीबाट आफूले राजनीतिक पद अस्थायी हुने तर सामाजिक पुँजी र निष्ठा स्थायी रहने महत्त्वपूर्ण पाठ सिकेको उनले बताए ।

थापाले पार्टीको संगठन सुदृढीकरणका लागि सबै तहका नेता तथा कार्यकर्ताले आफ्नो सोच र कार्यशैलीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए ।