July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

नेकपाको समीक्षाः ६० सीट जित्ने रिपोर्ट थियो, अपेक्षाभन्दा बाहिर परिणाम आयो

Advertisement

नेपाली कम्युनिस्ट पार्टी चुनावी हारको समीक्षा गर्न केन्द्रित छ। २२ घटक मिलेर बनेको नेकपा १७ सीटमा खुम्चिएपछि चुनावी समीक्षासहित आगामी रणनीतिबारे छलफल गर्न केन्द्रित भएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबारबाट संयोजन समितिको बैठक राखेर औपचारिक रूपमा छलफल थालेका हुन्। अर्को बैठक अब सोमबार बस्दैछ।

Advertisement

बैठकमा संयोजक प्रचण्डले चुनावी हारको कारणसहितको प्रतिवेदन पेश गरेका छन्। उनले चुनावको परिस्थिति विश्लेषण र परिणाम आकलन समेत समेटेका छन्। विश्लेषणमा चार प्रमुख दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको भएपनि अपेक्षाभन्दा बाहिर परिणाम आएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन हुँदा चार पार्टीबिच प्रतिस्पर्धा हुनेछ, हामीले कम्तीमा पनि प्रत्यक्षमा तिसभन्दा बढी सिट र समानुपातिकतर्फ १७/१८ लाख मत प्राप्त गर्नेछौ, कांग्रेस, एमाले र रास्वपा प्रत्येकले ४०–५० सिट ल्याउलान भन्ने आङ्कलन गरेका थियौँ। हाम्रो त्यो आङ्कलन कुनै सर्वेक्षण वा तथ्यगत रिपोर्टका आधारमा गरिएको थिएन।’
निर्वाचन प्रचार अभियानका दौरान निर्वाचन क्षेत्रहरूबाट आएका रिपोर्ट अनुसार पार्टीले ६० सिटसम्म जित्नसक्ने देखिएको उल्लेख छ। परिणाम हाम्रो आङ्कलन अनुसार आउन सकेन। हामीले जितिन्छ भनेका कैयन क्षेत्रमा दोस्रो स्थान पनि प्राप्त गर्न सकिएन प्रतिवेदनमा भनिएको छ।

चुनाव एजेन्डा र व्यक्तित्वको छनोटमा नभएको नेकपाको निष्कर्ष छ।

प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको चुनाव एजेन्डा र व्यक्तित्व छनोटमा हुँदै भएन। हामीले सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षा गर्ने, वैदेशिक हस्तक्षेप तथा परनिर्भरताको अन्त्य गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने तथा रोग, भोक, गरिबी, भूमिहीनता र असमानताको अन्त्य गर्दै समाजवादतर्फ अग्रसर हुने जस्ता प्रतिबद्धता जाहेर गरेका थियौँ तर मतदाताले यी कुरामा ध्यानै दिएनन् ।’

मतदाता डिजिटल माध्यमबाट आउने अल्गोरिदमिक सन्देश नै बढी हेरे त्यसैको विश्वास मतदान गरेको नेकपाको निष्कर्ष छ।