महावीरलाई पद्मा अर्यालको भनिन्– तपाईंको पोस्टले निराश बनायो


नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् । पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै अर्यालले त्यसको खण्डन गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै अर्यालले लेखेकी छिन्–’नयाँ संसदमा तपाईँ जस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा सहकार्य हुनेमा म उत्साहित थिएँ। तर आज तपाईँले गरेको पोस्टले निराश बनाएको छ।’
अर्यालले पुनले टिप्पणी गर्दा कुनै पार्टीको मुखपत्र जस्तो फेसबुक पेजमा राखिएको ‘मनगढन्ते’ र ‘विषाक्त’ कुरालाई आधार बनाएको आरोप लगाउनुभएको छ। आफूले नयाँ नेताहरूलाई तह लगाउने भन्ने कुनै पनि अभिव्यक्ति नदिएको दाबी गर्दै उनी भन्छिन्, ‘मैले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई तपाईँ जस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सिर्जना गर्नु चिन्ताजनक विषय हो।’
राजनीतिक र वैचारिक मतभेद हुनु स्वाभाविक भए पनि जिम्मेवार व्यक्तिले अनर्गल टिप्पणी गर्नु अशोभनीय नहुने अर्यालको तर्क छ।








प्रतिकृया दिनुहोस्