July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

को नक्कली,को सक्कली ?

करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।

Advertisement

वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन्।

Advertisement

ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। यसै कारण नेपालसँग ओली बढ्ता चिढिएका हुन्।

अर्कोतिर नेपालले ओली र उनले नेतृत्व गरेको एमाले नै नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। नेपालले शनिबार एक कार्यक्रममा सक्कली र नक्कली गरी नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टी रहेको बताए।

सँगसँगै उनले ओली नेतृत्वको एमाले नक्कली कम्युनिस्ट भएको आरोप लगाए। ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ उनले भने, ‘एकीकृत समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन।

एमाले नक्कली कम्युनिस्ट पार्टी भइसकेको छ। अहिले सूर्यमा ग्रहण लागिसकेकाले त्यसको भविष्य छैन। त्यसैले हामीमात्र सक्कली कम्युनिस्ट पार्टी हौं।’ बलयगाडा चढेर अमेरिका नपुगिने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाही प्रवृत्तिका कारण एमाले सिद्धिएको दाबी पनि नेपालले गरेका थिए। अध्यक्ष नेपालले आगामी निर्वाचनमा नक्कली कम्युनिस्टलाई जनताले भोट नदिने र केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेरखोज्नुपर्ने, बताएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।