May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा घनश्यामको चुनौती

प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।

Advertisement

तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

Advertisement

यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् । तर, उनीनिकटका नेताहरू आगामी महाधिवेशनमा ‘ओलीको विकल्प ओली’ नै भएको बताउँछन् । एमालेको तल्लो कमिटीका अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुन सक्छन् । उनलाई पराजित गर्न सक्नेगरी अन्य नेतासँग हैसियत पुग्दैन् । तर, उपमहासचिव घनश्याम भुसाल सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् ।

एमालेभित्र रहेको १० भाइ अर्थात् तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदै छन् । विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् । अहिलेको पदाधिकारीमध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य रहेको छु’ उपमहासचिव भुसालले भने । यो समाचार राजधानी दैनिकमा छ ।