July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

‘प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ’

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।

Advertisement

महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’

Advertisement

न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

न्यायालयमा अहिले देखिएको विवादमाथि विभिन्न कोणबाट धारणा राखेका कांग्रेस नेताहरूले ललिता निवास प्रकरणमा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पनि अहिले जोडिएर आएको धारणा राखेका थिए।

पार्टी सहमहामन्त्री सुनिल थापासहितका केही नेताले विवादमा संसद् र नेपाली सेनालाई समेत तान्ने प्रयास भइरहेको धारणा राखेका थिए। बैठकमा निर्वाचन समितिमा रहेका अधिवक्ताले पनि अहिले अदालतमा चलिरहेका विवादका विषयमा आफ्ना धारणा राखेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।