March 18, 2025, Tuesday
२०८१ चैत्र ५

ओली र नेपाल आरोप–प्रत्यारोप, एकता प्रक्रिया पूर्णविराम लाग्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।

सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए। उनले नेपाल प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्ककमल दाहाल) को कार्यकर्ता भएको, कांग्रेससँग साँठगाँठ गरेर शेरबहादुर देउवा (कांग्रेस सभापति) को पार्टीमा जान लागेको जस्तो आरोप लगाएका थिए।

Advertisement

उनले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै कडा टिप्पणी गरेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललगायत विपक्षी दलका अन्य नेताहरूप्रति कडा ढंगले कटाक्ष गरे।

सोमबार बिहान नेता नेपालले अहिले पार्टीको नेतृत्व संविधानको मर्ममा प्रहार गर्ने दक्षिणपन्थी बाटो अवलम्बन गर्ने तहको भएको आरोप लगाएका थिए। ‘अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गर्यौं,’ उनले भनेका थिए।

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास लिएर शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।