October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

उपेन्द्र निर्वाचन आयोगविरुद्ध अदालत जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।

Advertisement

जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा भोलि ९मंगलबार० बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने। यादव पक्षका नेता तथा जसपा कार्यकारणी समिति सदस्य रामसहाय यादवले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताए।

Advertisement

जसपाका बहुमत कार्यकारिणी समिति सदस्यको हस्ताक्षर जुटाएर बुझाउँदा पनि आयोगले सरकारको प्रभावमा परी निर्णय गरेको यादव पक्षको भनाइ छ। आयोगले आइतबार जसपाको ठाकुर र यादव दुवै पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन खारेज गर्ने निर्णय गरेको थियो। आयोगले जसपामा दुई अध्यक्ष रहने गरी साबिककै पदाधिकारीलाई मान्यता दिएको छ।

ठाकुर पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णयलाई स्वागत गरेका छन्। आयोगको निर्णय सकारात्मक र स्वागतयोग्य भएको ठाकुर पक्षका नेता विमल श्रीवास्तवले बताए। ‘आयोगको निर्णयले पार्टीलाई एकजुट बनाएको छ। निर्णय स्वागत योग्य छ’, उनले भने।

ठाकुर निकट नेता डा। सुरेन्द्र झाले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बहुमत र अल्पमतको खेलमा लागेको भन्दै आयोगको निर्णयबाट त्यस्तो खेलको अन्त्य भएको बताए। ‘अब उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्छ। त्यसपछि पार्टी एक हुन्छ’, उनले भने।

यसैबीच यादव पक्षले जसपाबाट सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई सोमबार सातदिने स्पष्टीकरण सोधेको छ। यादवले सोमबार सरकारमा सहभागी शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरैया, इकबाल मिया, चन्दा चौधरी, रेणुका गुरुङ र चन्द्रकान्त चौधरीलाई स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण चित्त बुझ्दो नभए पार्टीबाट निकाल्ने उनले जनाएका छन्।  

यादव पक्षले यसअघि नै सरकारमा सहभागी दुई मन्त्री राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकालेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।