November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो।

Advertisement

एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ।  

Advertisement

एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो। कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए।

बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो। दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने।

वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो। बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ।

‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो। छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ। अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।