कर्मचारी अभावले प्रतापपुर गाउँपालिकामा सेवा प्रभावित, तीनवटा शाखा बन्द


भैरहवा–एकैपटक ९२ जना कर्मचारी हटाएपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाद्वारा प्रदान गरिने सेवाहरु प्रभावित हुन थालेका छन् ।
खर्च कटौतीका लागी सङ्घीय सरकारको परिपत्र अनुसार उक्त गाउँपालिकाले ९२ जना कर्मचारीलाइ हटाएको थियो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले कर्मचारी हटाइएपछि गाँउपालिकाका केही शाखा र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रभावित हुन पुगेको बताए ।
‘कर्मचारीको अभावले बडा कार्यालयहरुमा कम्प्युटर अपरेटरहरुद्वारा प्रदान गरिने सेवाहरु असहज हुन पुगेका छन्’ अध्यक्ष यादवले पब्लिक कुरासँग भने, ‘गाउँपालिकाको रोजगार, भूमी र महिला तथा बालवालिका शाखा पुर्ण रुपमा बन्द नै भएका छन् ।’ ति शाखाहरुमा कर्मचारी नभएकाले बिगत एक महिनादेखि बन्द गर्नु परेको उनले बताए । उनका अनुसार, गत कात्तिक १ गतेदेखि कर्मचारी अभावले ति शाखा बन्द गरिएका हुन् ।
प्रभावित भएका सेवाहरु सहज बनाउन गाउँपालिकाले आम्दानी स्रोत बृद्धि गरी कर्मचारी राख्ने योजनामा छ । यसकालागि आन्तरिक गृह कार्यमा गाउँपालिका जुटिरहेको छ । पालिका भित्रका माछा पोखरीदेखि विभिन्न हाटबजारलाई व्यवस्थित गर्दै आन्तरिक आय वृद्धि गर्ने योजनामा गाउँपालिका छ ।
‘आन्तरिक स्रोत बृद्धिकालागि हामी अहिले पनि बिशेष सभा गरिरहेका छौं’ अध्यक्ष यादवले भने, ‘आन्तरिक स्रोतको व्यवस्थापन नगरी हामीले थप कर्मचारी राख्दैनौं । गाउँपालिकालाई थप कर्मचारी कति संख्यामा आवश्यक पर्छ ? भन्ने पनि बिशेष सभाले नै निर्धारण गर्छ ।’
प्रतापपुर–५ बैदौलीमा पशु हाटबजार सञ्चालन गरेर चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ । स्थानीय नदीजन्य पदार्थको ठेक्का लगाएर आम्दानी वृद्धि गर्ने योजना अनुरूप काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।
हाल १ करोड ३० लाख रुपैयाँमात्र पालिकाको आन्तरिक स्रोत रहेकाले त्यसमा थप स्रोत वृद्धि गर्न प्रयास थालिएको र स्रोत सुनिश्चित भएपछि कर्मचारी थप गर्दै जाने योजनामा गाउँपालिका छ ।








प्रतिकृया दिनुहोस्