जनताले मौका दिँदा पनि गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता होः जनार्दन


प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम भइरहेको टिप्पणी गरेका छन्। जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको प्रशंगमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना राजनीतिक दलका नेताहरूले सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लगिरहेको आरोप लगाए।
उनले भनेका छन्, ‘हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सीखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ। यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पुनर्स्थापना र दीर्घकालीन राजनीतिक स्थायित्व तर्फको यात्राको आधार तयार गर्यो।
तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा रहेको बताए। उनले थपेका छन्, ‘भ्रष्टाचार मौलायो, सुशासन झन् झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्। पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम हुँदैछन्, व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो ।’
जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रक्रिया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ संकल्प सहित एकताबद्ध हुन आग्रह गरे।








प्रतिकृया दिनुहोस्