June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

दलीय सिन्डिकेट भत्काउँदै सन्धिखर्क खानेपानीमा भुसाल विजयी

Advertisement

अर्घाखाँची— मुलुकका ठूला राजनीतिक दल अहिले आन्तरिक समिकरण मिलाउन र दलमा आआफ्नो गुटको प्रभुत्व कायम गर्न तल्लिन छन् । दलहरु आन्तरिक लफडामा मात्र छैनन् । उनीहरुलाई जिल्ला–जिल्लामा स्वतन्त्र उम्मेदवारले चुनौंती पेश गरिरहेका छन् । यसको पछिल्लो उदाहरण सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशन बनेको छ ।

Advertisement

संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा चार दलीय गठबन्धन बनेको थियो । तर, स्वतन्त्र उम्मेदवारले दलका साझा उम्मेदवारलाई पराजित गरिदिएका छन् । यसबाट दलका नेता र कार्यकर्ता पार्टीको नियममा बाँधिए पनि मतदाताले विवेक प्रयोग गर्न थालेका छन् भन्ने देखिएको छ । बिहीबार भएको चुनावमा स्वतन्त्र नागिरक समाजका नाममा बाबुराम भुसालले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई १ सय २० मतले पराजित गरेका हुन् ।

भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । खत्री कांग्रेस कार्यकर्ता हुन् । भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र भएका थिए । उनले जिल्लाको कांग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाडेका थिए । ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरेका थिए ।

त्यस्तै बुधबार साँझ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति निकालेर बाबुरामलाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन उपभोक्तामा ह्वीप जारी गरेको थियो । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए । चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर जिताएको र खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार आफूले काम गर्ने नवनिर्वाचित भुसालले बताए । ‘सबै उपभोक्तालाई शुद्ध पानी खुवाउँछौं,’ उनले भने, ‘हरेक ठाउँमा श्रमदान गर्नेछौं ।’

दुईवटा विज्ञप्तिप्रति दलले सिन्डिकेट लगाउन खोजेको भन्दै उपभोक्ता आक्रोशित बनेका थिए । जिल्लामा रहेका रहेक सामाजिक संघसंस्थामा दलका शीर्ष नेता मिलेर भागबन्डा गर्ने र आफू नजिकैका कार्यकर्तालाई पद बाँड्ने दलीय परम्परा एवं सिन्डिकेट सन्धिखर्कका खानेपानीमा तोडिएको स्थानीय युवा कमल भुसालले बताए । भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी भए ।