June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

बालअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

Advertisement

भैरहवा– विश्व बालदिवसको अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र अमेरिकन कर्नर भैरहवाले संयुक्तरुपमा बालबालिकाहरुलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । बिहीवार भैरहवास्थित संघको सभाहलमा बाल अधिकारका विषयमा अन्तरक्रिया गरिएको हो ।

Advertisement

‘मेरो दिन, मेरो अधिकार’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको हो । कार्यक्रममा संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूहरुले बालबालिकाको पक्षमा काम गरिरहेको जनाउँदै विद्यालय तहमा बालअधिकारकाको सुनिश्चिताको ग्यारेन्टी गरेको जानकारी दिए । उनले बालबालिकालाई अधिकार प्रदान गर्दै सकारात्मक सोंचको विकासका लागि सवैसँग सहकार्य गरेर अगाडि बढ्ने मार्गमा सिद्धार्थनगर लागिपरेको जनाए । ‘अध्ययन गरेर विदेश जाने होइन, नेपालको विकासमा लाग्नुपर्छ, यही काम गर्नुपर्छ’, नगर प्रमुख खाँले भने ।

कार्यक्रममा अमेरिकन कर्नर भैरहवाका संस्थापक सदस्य तथा वरिष्ठ पत्रकार दीलिप भट्टराईले संयुक्त राष्ट्र संघले चार अधिकारको सुनिश्चिता गरेको बताए । बालबालिकालाई बाँच्न पाउने अधिकार, विकासमा पाउने अधिकार, सुरक्षामा पाउने अधिकार, सहभागिता पाउने अधिकार उनले जनाए ।

उनले बालबालिकाले पाउने अधिकारका लागि सचेत हुनुपर्ने बताए । बालबालिकाहरुलाई कुनै पनि कार्यक्रममा दुरुपयोग गर्न नहुने भन्दै यस्तो हुनु बालवालिकाको अधिकार विरुद्ध हुने उनको भनाई छ । नेपालमा पछिल्लो समय बालश्रम बढ्दो रहेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने भट्टराई बताए ।

अहिलेका बालबालिकाले सामाजिक सञ्जाल तथा नेटइन्टरनेटको प्रयोगबाट संसारको अध्ययन तथा अवलोकन गरेको भन्दै उनले बालबालिकाहरुलाई त्यस्ता विषयवस्तुबाट टाढा गर्न नसकिने बताए । नेपालमा भएको जेनजी आन्दोलन भ्रष्टाचारका विरुद्ध भएको भन्दै त्यो आन्दोलनमा घुसपैठ हुँदा नयाँ पुस्ताले चाहेजस्तो परिवर्तन नभएकोमा दुःख व्यक्त गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बालबालिका देशका लागि कर्णधार भएको बताए । बालवालिकाका अधिकारका लागि सवैपक्षले ध्यान दिनुपर्ने उनको जोड छ । उनले जेनजी आन्दोलनमा उठाएका मागहरु जायज भएको तर तोडफोड र निजी तथा राज्यका सम्पत्तीमा भएको क्षती गतल भएको जनाए । यस्ता गतल क्रियाकलापमा नलाग्न आग्रह गर्दै अध्यक्ष आचार्यले सकारात्मक सोचका साथ आफ्ना माग राख्नका लागि आग्रह गरे ।

संघका बरिष्ठ उपाध्यक्ष दीलिपकुमार कान्दुले बालअधिकार राज्यको दायित्व भएको भन्दै संरक्षणमा ध्यान दिन आग्रह गरे । काशी नोवल एकेडमीमा कक्षा १२ मा अध्ययनरत रुबि क्षेत्रीले आफ्नो अधिकार आफैले खोज्नुपर्ने बताइन् । राज्यले बालबालिकाको सवै अधिकारलाई व्यवहारमा पनि लागुगर्नुपर्ने भन्दै क्षेत्रीले घरपरिवारदेखि विद्यालयसम्म बालवालिका स्वतन्त्र हुन पाउनुपर्ने माग राखिन् ।

जेनजी पुस्ताकी विद्यार्थी नेन्सी गिरीले युवाहरुलाई सकारात्मक सोचबाट देश विकासमा लाग्न आग्रह गर्दै आजको कार्यक्रमबाट बालअधिकारको विषयमा धेरै जानकारी प्राप्त गरेको बताइन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार विष्णुप्रसाद शर्मा, महासचिव कृष्णप्रसाद घिमिरे, संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता शिबप्रसाद गौडेल, कार्यकारी सचिव कमला बस्नेत, कार्यकारी उपसचिव खगेन्द्र शर्मा, संघका सूचना अधिकृत तथा अमेरिकन कर्नर भैरहवाको कोर्डिनेटर ज्योति पाण्डे, काशी नोवल एकेडमीका प्राचार्य राजेन्द्र घिमिरे, एकेडमीका शिक्षक दीपक काफ्ले, निर्मल हुमागाई, फोटो पत्रकार सचिन तुलाधर र जेनजी पुस्ताका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो ।