June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

आजबाट एनपीएलको दोस्रो संस्करण

Advertisement

भैरहवा- काठमाडाैंकाे कीर्तिपूरमा सोमबारबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सुरु हुँदैछ । जसले गर्दा मुलुकभर उल्लास छाएको छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो संस्करण सुरु हुने भएपछि दर्शकहरु कुन टिमले कस्तो प्रदर्शन गर्ने छ भनेर आपसी बहस र अड्कलबाजीमा व्यस्त भइसकेका छन् ।

Advertisement

एनपीएलको दोस्रो संस्करण काठमाडाैंस्थित कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुँदै छ । प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसपालि एनपीएल खेल्न इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी नेपाल आइपुगेका छन् ।

प्रतियोगिताका विजेतालाई १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख पुरुस्कार तय छ । गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो । यसपल्टको संस्करणले तला थप्ने काम गर्ने क्रिकेट अधिकारीले बताए । प्रतियोगिताकालागि भनेर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई सानदार तुल्याइएको छ । यसपटक फ्लड लाइट्ससहितको दर्शकदीर्घा छ ।

नेपाली क्रिकेट समर्थकले पनि नयाँ स्वादले यो खेल आँखा अगाडि हेर्न पाउने छन् । कीर्तिपुर मैदानमा सोमबार जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीचको खेलसँगै प्रतियोगिता सुरु हुनेछ । यसका खेलका लागि टिकट खुला गरेको २४ घण्टा नबित्दै सबै टिकट विक्री भइसकेका छन् । दर्शकको भरपूर साथ भएकाले नेपाल क्रिकेट एशोसियशन (क्यान)ले एनपीएलबाट ४० करोड संकलन गर्ने विश्वास गरेको छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।