June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

स्थानीयको बिरोधपछि कोहलपुरमा रोकियो बिद्युत प्रसारण लाइनको कार्य

Advertisement

भैरहवा–सुरक्षा खतराको कारण देखाउदै बाँकेको कोहलपुर क्षेत्रमा स्थानीयको अवरोधपछि ३३ केभी बिद्युत प्रसारण लाइन बिस्तारको कार्य रोकिन पुगेको छ ।

Advertisement

बिद्युत प्रसारण लाइन बिस्तार गरिएपछि सुरक्षा खतरा हुने भन्दै कोहलपुरस्थित पिपिरी क्षेत्रका स्थानीयले लाइन बिस्तारमा अवरोध गरेका हुन् । बिद्युत प्रसारण लाइन बिस्तारका लागि नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ ।

बिद्युत पोल गाड्ने क्रममा खासगरी कोहलपुर नगरपालिका वडा नम्बर ८, ९ र १४ नम्बर वडाका नागरिकले अवरोध गरेका छन् । लाइन बिस्तारको काम भइरहेको समयमा स्थानीयको यो अवरोधले पोल विस्तारको काम रोकिएको छ । लाइन बिस्तार गर्दा स्थानीय र सरोकारवाला निकायसँग समन्वय नगरिएको आरोप पनि स्थानीयको छ ।

कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले बिद्युत लाइन विस्तार गर्दा स्थानीयबासीन्दासँग समन्वय नगरिएको आरोप लगाए । विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वय बिना नै काम गरेको भनाइ उनको छ ।

बिद्युत प्राधिकरणले लाइन बिस्तार गर्ने क्रममा स्थानिय जनप्रतिनिधीसँग पनि कुनै समन्वय नगरिएको भन्दै स्थानिय जनप्रतिनिधीहरुलेपनि असन्तुष्टि व्यक्त गरेका छन् । कोहलपुर– ८ का वडाअध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनैपनि जानकारी नगराइएको जनाउँदै घर नजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने हुँदा स्थानीयले अवरोध गरेको बताए ।

स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनैपनि सहमति र समन्वयबिना सुरु गरिएको यो काम रोकिनुपर्ने स्थानीयको माग छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युतका पोल गाड्ने काम भइरहेको जनाउँदै वडालाई कुनै जानकारी नदिइकन लाइन बिस्तारको काम सुरु गरिएको बताए ।

कोहलपुर–१४ का वडाअध्यक्ष नमबहादुर आले मगरले जथाभावी पोल गाड्दा स्थानीयले रोकेको बताए । अब स्थानीयसँगको आपसी संवादबाटै समाधान निकाल्नु पर्ने उनि बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयल नेपालगन्जले भने कोहलपुर क्षेत्रमा लाइन विस्तार गर्दा नियम अनुरुप नै काम गरिरहेको दाबी गरेको छ । डिभिजन कार्यालयका प्रमुख दिपक गौतमले नेपालगन्ज–कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर–१० स्थित सव–स्टेशनसम्म विद्युतका पोल विस्तारको काम भइरहेको जनाउदै स्थानियले बिरोध गरेको जानकारीमा आएपछि सहमती अनुरुप काम अघि बढाइने बताएका छन् ।