June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति एमाले अध्यक्ष ओली बाधकः भुसाल

Advertisement

पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन अरू कुनै कारणले रोक्नु वा सार्नुपर्ने नरहेको बताएका हुन् ।

Advertisement

अन्तरिम सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन आउँदो फागुन २१ गते हुने गरी तोकेको छ । ‘जेनजी’ आन्दोलनको बलमा तत्कालीन सरकार र संसद् विघटन गरिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले देशमा शासन गरिरहेको छ ।

राजनीतिक दलका नेताले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् । एमालेले संसद् पुनर्स्थापनको एजेन्डा अघि सारेको छ । निर्वाचनबारे नेपाली कांग्रेसमा मत विभाजित छ । अरू राजनीतिक दल भने निर्वाचनमा जाने मनस्थितिमा छन् ।

नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरूको पहिल्यै राजनीतिक दल रहेको उनले बताए । उनले आउँदो निर्वाचनमा एजेन्डासहित प्रस्तुत हुने सुनाए ।

सबै राजनीतिक दलले चुनावको प्रचारप्रसार गरेपछि ‘लतारिएर’ निर्वाचनमा आउनुको विकल्प ओलीसँग नहुने उनले तर्क गरे । सरकारको तयारी, राजनीतिक वातावरणका हिसाबले निर्वाचन सार्नु वा नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए ।