June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रेसुङ्गा विमानस्थलबाट बिहीवारदेखि सातामा चार उडान सुरु

Advertisement

भैरहवा–विगत पाँच महिनादेखि सातामा एउटामात्र उडान हुँदै आएको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट बिहीवारदेखि सातामा चार पटक हवाइ उडान सुरु भएको छ ।

Advertisement

नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेसनका प्रमुख सुमन थापाले बिहीवारदेखि रेसुङ्गा स्टेसनबाट नियमित रुपमा चारवटा हवाइ उडान सुरु भएको जनाएका छन् । रेसुङ्गा स्टेसनबाट नेपाल वायुसेवा निगमको ट्वीनअटर बिमानले सातमा चार पटक उडान गर्ने भएको हो ।

थापाका अनुसार, यस अघि बिहीवारमात्रै गुल्मी–काठमाडौं बिच हवाइ उडान हुने गरेकोमा अव आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान बिग्रिएपछि विगत पाँच महिनादेखि सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो ।

बिग्रिएको ट्वीनअटर विमानको मर्मतसम्भार भए पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको छ । १९ सिट क्षमताको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमानले काठमाडौँबाट बिहान साढे ६ बजे र रेसुङ्गाबाट बिहानसाढे ७ बजे हवाई उडान गर्दै आएको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोमा अत्याधिक हावाको चाप हुने भएकाले प्राविधिक र सुरक्षाका दृष्टिले बिहानमा हवाइ उडान सञ्चालन गरिएको हो ।

काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३ सय रुपैयाँ भाडा दर निर्धारण गरेको छ ।