October 16, 2026, Friday
२०८३ आश्विन ३० शुक्रबार

रेशम रायमाझीद्वारा ‘बहादुर कर्णेल’को सालिक निर्माणका लागि आर्थिक सहयोग

Advertisement

पाल्पा– नेपालको इतिहासमा वीरताको प्रतिमूर्तिका रूपमा चिनिएका ‘बहादुर कर्णेल’ गम्भीरसिंह रायमाझीको पूर्णकद सालिक निर्माणका लागि पाल्पा बल्ढेङ्गढीका समाजसेवी तथा युवा व्यवसायी रेशम रायमाझीलेरु १ लाख ५१ हजार ५१० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Advertisement

संयुक्त राज्य अमेरिका (युएस)मा रहेर व्यवसाय गर्दै आएका रायमाझीले आफ्नो उद्गमस्थल पाल्पा छहरामा निर्माणाधीन सालिक बनाउन उक्त रकम सहयोग गरेका हुन् । उनले उक्त रकम रायमाझी कुलदेवता समिति केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

करिब ११ लाख लागतमा बन्ने सालिकका लागि उनले आवश्यकता अनुसार थप रकम सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । रायमाझी परिवारको ऐतिहासिक व्यक्तित्व ‘बहादुर कर्नेल’ नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल गम्भीर सिंह रायमाझी थिए । उनले तेस्रो नेपाल–तिब्बत युद्धमा देखाएको साहस र भारतको १८५७ सिपाही विद्रोहमा प्रदर्शन गरेको अदम्य वीरता आज पनि नेपाली सेनाको गौरवको अध्याय बनेको छ ।

भारतको जौनपुर नजिकैको चन्दा क्षेत्रमा भएको भीषण युद्धमा रायमाझीले खुकुरी प्रयोग गर्दै पाँच जना शत्रुलाई पराजित गरेका थिए । उनले कब्जा गरिएको तोपलाई पुनः आफ्नो फौजको नियन्त्रणमा ल्याएका थिए । युद्धकै क्रममा पेटमा गहिरो चोट लाग्दा आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा उनले तत्कालै कचौरामा राखी पटुकाले बाँधेर युद्धलडी सफलता प्राप्त गरेका थिए ।

यस अद्भूत साहसका कारण उनलाई तत्कालीन नेपाल सरकारले ‘बहादुर कर्नेलको’ पदवी प्रदान गरेका थियो । नेपाली सेनाले रायमाझीको योगदानलाई सदैव स्मरण गर्दै आएको छ । उनको स्मरणमा रायमाझी कुलदेवता समितिले पाल्पाको छहरामा पूर्णकदको सालिक निर्माण गरिरहेको छ ।

रेशम पाल्पा बल्ढेङ्गढी निवासी नरबहादुर रायमाझीका नाती र समाजसेवी निरखबहादुर रायमाझीका सुपुत्र हुन् । विदेशमा रहँदै पनि आफ्नो जन्मभूमिप्रति समर्पित रायमाझीले विगतका वर्षहरूमा समेत थुप्रै सामाजिक र मानवीय कार्यहरूमा आर्थिक सहयोग पुर्याउँदै आएका छन् ।

रायमाझीले बल्ढेङ्गढी निवासी मृगौला पीडित विमला रास्कोटीलाई १ लाख ५ हजार ८ सय २५, जगद्गुरु पीठ भैरहवालाई भजन सामग्री खरिदका लागि ४० हजार बराबर सहयोग गरेका छन् । पाल्पा बल्ढेङ्गढी समाजलाई २७ हजार लगायत धेरै व्यक्ति तथा संघसस्थालाई रेशमले यो आर्थिक वर्षमा मात्र सहयोग प्रदान गरेको उनको पारिवारले जनाएका छन् ।