नयाँदिल्लीको विस्फोट घटना निन्दनीयः मैत्री केन्द्र


भैरहवा– नेपाल भारत मैत्री केन्द्र, केन्द्रीय समिति, रुपन्देहीले भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक भएको विस्फोटको भत्र्सना गरेको छ । सोमबार त्यहाँ विस्फोट हुँदा केही मानिसको मृत्यु भएको थियो भने केही घाइते भएका छन् । मैत्री केन्द्रले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त घटनाले दुखी तुल्याएको जनाउँदै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले आतंकबादी समूह वा जो कोहीले गराएको भए पनि उक्त विस्फोट निन्दनीय रहेको जनाए । उनले आतंकवाद विरुद्ध नेपाल–भारत दुबै देशले मिलेर लड्नुपर्ने जनाएका छन् । एउटा असल छिमेकी मुलुकका नाताले भारतमा भएका यस्ता आतंकवादी घटनाविरुद्ध नेपाली जनता र मैत्री केन्द्र सधैं साथमा रहने विज्ञप्तीमा जनाइएको छ ।
नयाँदिल्लीमा मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको थियो । विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ । तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन । मैत्री केन्द्रले मानवभन्दा ठूला केही नहुने जनाउँदै मानवता विरोधी हुने जुनसुकै आतंकवादविरुद्ध कडा कदम चालेर निस्तेज पार्नुपर्ने जनाएको छ ।
‘नेपाल–भारतको सम्बन्ध सदियौंदेखि रहँदै आएको छ, एकअर्का देशले सुखदुःखमा साथ दिँदै आएका छन्’, विज्ञप्तीमा भनिएको, ‘नयाँदिल्लीमा भएको घटनाले सबै नेपालीहरुलाई दुखी तुल्याएको छ । यस्तो अवस्थामा हामी भारत सरकारलाई सधैं साथ दिन तयार छौं ।’








प्रतिकृया दिनुहोस्