बाँकेका स्थानीय तहका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा


बाँके– बाँकेका स्थानीय तहका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण नियन्त्रणमा आएको छ । यहाँका सात पालिकामा दुई महिनायता उक्त रोगको समस्या थियो । दसैँ अघि नै सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो ।
जिल्लाको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किनको सङ्क्रमण देखिएको थियो ।
जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले पालिकामा १६२ वटा पशु चौपायमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिनासाथ खोप उपलब्ध गराइएको र पशुको आहारामासमेत ध्यान दिइएकाले अहिले छिटफुट घटना बाहेक लम्पी स्किन नियन्त्रणमा आएको बताए ।
राप्तीसोनारी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले राप्तीसोनारी गाउँपालिका–६ को खल्ला टपरीबाट सुरुमा लम्पी स्किनको सङ्क्रमण सुरु भएको उल्लेख गर्दै एक साताअघि मात्रै वडा नं ८ मा पनि सङ्क्रमण देखिएको जानकारी दिए । धेरैजसो पशुमा लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा आएको उल्लेख गर्दै उनले भ्याक्सिनको अभावले सुरुमा केही समस्या भएको बताए ।
नरैनापुर गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जगतराम यादवले ८५ वटा पशु चौपायमा लम्पी स्किनको घटना देखिएको जानकारी दिँदै भयावहस्थिति नरहेको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले स्थानीय तहका पशुसेवा प्राविधिकसँगको अन्तरक्रियामा विज्ञ केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले रोग नियन्त्रणमा आएको जनाए ।
उनले केही स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमणका कारण दुई वटा पशु मरेको उल्लेख गर्दै खोपको व्यवस्थापन र मौसमममा आएको फेरबदलले पनि सङ्क्रमण कम हुँदै गएको बताए ।








प्रतिकृया दिनुहोस्