मुलुकको वर्तमान समस्याको निकास संसद पुनःस्थापनाः पौडेल


बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको अहिलेको समस्याको सही निकास प्रतिनिधिसभा पुनःस्थापना रहेको बताएका छन् । मुलुकलाई संवैधानिक बाटोबाट हिंडाउनको लागि संसद पुनःस्थापना गरी त्यहींबाट सबै समस्याको समाधान गर्न सकिने पौडेलले जनाए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले संविधानको आधारमा मुलुकलाई अघि बढाउँदै सहज संवैधानिक अभ्यासलाई प्राथमिकता दिन प्रतिनिधिसभाको पुनःस्थापना, संविधान संशोधन र सरकारभन्दा बाहिरबाट पनि सरकार बनाउन सक्ने व्यवस्था गर्न सकिने बताए ।
‘देश र संविधानले दलविहिनताको कल्पना समेत गरेको छैन’, उनले भने, ‘नेताको विकल्प नेता र पार्टीको विकल्प पार्टी नै हुन् ।’ भदौं २३ र २४ गते भएको घटनाको निस्पक्ष छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने पौडेलको धारणा छ । देशमा दुई दिनमा अनपेक्षित घटना र दृष्यले ठूलो कल्पना बाहिर मुुलुक पुगेको बताउँदै दुवै दिनका घटनाका दोषीलाई कारवाही हुनुपर्ने एमालेको स्पष्ट अडान रहेको पौडेलले जनाए ।
घटनामा दोषी एमाले देखिए पनि त्यसमा दण्डित हुन आफूहरु तयार रहेको पौडेलले स्पष्ट पारे । सरकारले निर्वाचन गर्ने भनिरहे पनि त्यो वातावरण अहिलेसम्म बन्न नसकेको बताउँदै पौडेलले एमाले निर्वाचनबाट नभाग्ने समेत स्पष्ट पारे । निर्वाचन हुनेमा अझै आशंक रहेको र त्यो ढाँचामा मुलुक नगएको भन्दै उनले चुनाव भए एमाले उत्तीर्ण भएर आउने दावी गरे । साथै नेता पौडेलले रुपन्देहीमा आफ्नो कामको मूल्यांकल गरी गल्ती, सुझाव र आलोचना गर्न सबै नागरिक समक्ष आग्रह समेत गरे ।








प्रतिकृया दिनुहोस्