शुक्रवार रातीदेखि मौसममा क्रमिक सुधार आउने


भैरहवा–पश्चिमी वायु, न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण अधिकांश भागमा भैरहेको वर्षा र बदलीको मौसममा शुक्रवार रातीदेखि सुधार आउने अनुमान छ ।
बिगत तीन दिनदेखि मौसममा आएको परिवर्तनको प्रभाव देशभरि परेको छ । यसबाट हिमाल, पहाड र तराई मधेश सबै ठाउँको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम बिज्ञान पूर्वानुमान महाशाखाले शुक्रवार रातीदेखि मौसममा क्रमिक रूपमा मौसममा सुधार हुने जनाएको छ ।
हाल देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार शुक्रवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बर्षा सहितको प्रतिकुल मौसमले मुलुकभरिका अधिकाँश किसानलाई पाकेर भित्राउन ठिक्क पारेको धान बालीमा अवरोध र नोक्शानी पुर्याएकाले चिन्तित बनाएको छ । खेतभरि धान पाकेर पहेँलपुर छन् । तर बर्षाले न काट्न मिलेको छ न मेशिनकै प्रयोग गर्न मिलेको छ । हातले कोटर केही दिन खेतमैं सुकाउने गरिएका खेतमा बर्षाले धान भिजेको छ ।
अहिलेको यो मौसमले हिउँदे तरकारी बालीलाई भने सकारात्मक प्रभाव पारेको छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ ।








प्रतिकृया दिनुहोस्