July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

कपिलवस्तुमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

Advertisement

कपिलवस्तु —पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बुधबार राति करिब २ बजे पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको थियो । नियन्त्रण बाहिर पुगेको बस सडकमा पल्टिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट करिव ५५ वर्षका पुरुषको भने मृत्यु भएको छ । गम्भीर घाइते भएका ती व्यक्तिलाई उपारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सन्तोष घिमिरेले बताए । घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।