July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

७५ जिल्लामा डेङ्गु सङ्क्रमण, ५ को मृत्यु

Advertisement

भैरहवा–डोल्पा र मनाङ जिल्ला बाहेक मुलुकका ७५ जिल्लामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङक अनुसार, हाल देशका ७५ जिल्लाबाट ६ हजारभन्दा धेरैमा डेङ्गु सङ्क्रमण भएको पाइएको छ । ६ हजार ६ सय ६८ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको महाशाखाका किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जनाएका छन् । उनका अनुसार, डोल्पा र मनाङ जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमणको पुष्टि भएको छैन ।

डेंगु सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा पुष्टि भएको छ । बागमतीमा १ हजार ६ सय ४९ जनामा डेङ्गु पुष्टि भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९६, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४ र मधेशमा १ सय ३९ जनामा डेङ्गु पुष्टि भएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।

पुनका अनुसार, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षणपनी डेङ्गु संक्रमणमा देखिने गर्छन् । ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न चिकित्सकले आग्रह गरेका छन् । डेङ्गु सङ्क्रमणको जोखिम कात्तिक महिनासम्म रहने भएकाले थप सचेत रहनु पर्ने चिकित्सकको भनाइ छ ।