फेरी म्याद थप्ने तयारीमा राजमार्ग चौराहा गोलपार्क सडक खण्ड


पहिलो ठेक्का तोडेर दोश्रो पटक ठेक्का लगाउदापनी झण्डै एक दशकदेखी निर्माण सम्पन्न हुन नसकेको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडकको पुनः म्याद थप्ने तयारी गरिएको छ ।
पानी पर्दा हिलाम्मे र अन्य बेला धुलाम्मे हुने गरेको साढे तीन किलोमिटर दुरीको उक्त सडक खण्ड पहिलो ठेक्का तोडेर दोस्रो पटकको टेन्डरबाट पनि सम्झौता अनुसार निर्माण सम्पन्न नभएपछि पुन म्याद थप्ने तयारी गरिएको हो ।
सम्झौता अनुसार, यो सडक खण्ड गत असोज महिनामै निर्माण सम्पन्न भैसक्नु पर्ने हो । भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको बाबुल दर्शन मालिका जेभीसँग २०८२ असोज १८ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
निर्धारित समयसम्म ४८ प्रतिशत मात्र भौतिक प्रगति भएपछि २०८२ चैतसम्म काम सम्पन्न गर्ने गरी सडक विस्तारको म्याद थप गर्न लागिएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर तथा सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
एक वर्षभित्र काम सम्पन्न गर्ने गरी २०८१ असोज १८ गते ठेक्का सम्झौता गरेको र सम्झौता गरेका निर्माण व्यवसायी बाबुल खानको निधन भएपछि निर्माण बिस्तारको काममा ढिलाइ भएको लम्सालको भनाइ छ । निर्माण व्यवसायीका प्रतिनिधिले आउदो ६ महिनामा काम सक्ने प्रतिबद्धता जनाएपछि चैतसम्मलाई म्याद थप गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी लम्सालले दिए ।
यस अघि २०७६ असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरि द कञ्चनजंघा विरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार रुपँैयामा सम्झौता गरेको थियो । २०७३ चैत १७ गतेबाट सुरु गरेको उक्त निर्माण कार्य पाँच पटक म्याद थप गर्दा पनि अलपत्र परेपछि २०८० बैशाखमा सरकारले ठेक्का तोडेको थियो । सडक विस्तारमा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।








प्रतिकृया दिनुहोस्