जुवा खेल्दै गरेका एक जनप्रतिनिधिसहित १३ जना पक्राउ


भैरहवा–जुवा खेलिरहेको अवस्थामा दाङको घोराहीमा एकजना जनप्रतिनिधिसहित १३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ काठेकोहल स्थित होटल टिथ्रीमा जुवा खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणी अर्यालसहित ९ जना र अर्को एक स्थानबाट ४ जना पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरु जूवा खेलिरहेको स्थानमा छापा हानेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले आइतवार राती उनीहरुलाई जुवा खेलिरहेको स्थानबाट पक्राउ गरिएको र ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ बरामद गरेको जनाएका छन् ।
उनका अनुसार, वडाअध्यक्ष सहित पक्राउ पर्नेमा कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, बिक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, प्रबिन रावत र तेजप्रसाद आचार्य रहेका छन् ।
घोराही उपमहानगरपालिका-१५ काठेकोहलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका चार जनालाईपनी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ६० हजार ६ सय ४० रुपैया बरामद गरेको छ । पक्राउ पर्नेमा अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरी रहेका छन् ।








प्रतिकृया दिनुहोस्