July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

सद्भाव र राष्ट्रिय एकता बलियो बनाऔँः खड्का

Advertisement

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

Advertisement

उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्व भएको मुलुक भएको उल्लेख गर्दै यस विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन्। तिहार अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक र मानवीय सम्बन्धहरूमा सौहार्द र आत्मीयता कायम गर्न सहयोग पुगेको उनको भनाइ छ।

नेपाल संवत् ११४६ को सन्दर्भमा उनले यो बागमती सभ्यताको उत्थानकालको इतिहास र संस्कृतिको जीवन्त धरोहर भएको बताए। समाज सुधारक शंखधर साख्वाद्वारा गरिबहरूको ऋणमोचनमार्फत गरिएको महान् परोपकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको र साख्वाको उदारता, समर्पण र योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि खड्काले उल्लेख गरे।

अन्तमा, अन्धकारमाथि उज्यालोको विजयको प्रतीक तिहार र नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उनले सबैमा पुनः शुभकामना व्यक्त गरेका छन्।