एमाले केन्द्रीय कमिटीले पारित गरेका प्रस्तावहरू कस्ता छन् ?


नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकबाट विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि शुक्रबारसम्म बसेको दसौं केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा २२ वटा प्रस्ताव पारित गरेको हो।
बैठकमा २३३ जना केन्द्रीय सदस्य, ४६ जना पोलिटब्युरो सदस्य, २१ जना स्थायी कमिटी सदस्य, १७ पदाधिकारी, प्रदेश कमिटीका ८ र पार्टो चारवटै आयोगका अध्यक्षहरूले बोलेका थिए। उनीहरूले भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितीबारे अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि धारणा र सुझाव प्रस्तुत गरेका थिए।
पारित भएको प्रस्तावमा भदौ २३ गतेको प्रदर्शनमा घुसपैठ र दुरूत्साहनमार्फत युवाहरूको हत्या हुने स्थिति सिर्जना गरिएको भनिएको छ। त्यसलाई एमालेले सामान्य सुरक्षा कमजोरी मात्रै नभएको पनि बताएको छ।
‘तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भएको पुष्टि गर्छन्। यस घटनामा स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ। सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कारबाही गर्नुपर्छ भन्ने माग गर्दछ,’ प्रस्तावमा भनिएको छ।
त्यस्तै हालको सरकार निर्वाचनको वातावरण बनाउनेतिर भन्दा अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्वत रहेको पनि एमालेको निष्कर्ष छ।
‘निर्वाचनको मूल पक्षका रूपमा दलहरूसँग संवाद, परामर्श र सहकार्य त परै छाडौं, सम्पर्क समेत गर्न चाहिरहेको छैन। उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ,’ केन्द्रीय कमिटीले पारित गरेको प्रस्तावमा भनिएको छ।
एमालेले केन्द्रीय कमिटी बैठकबाटै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राखेको छ।
‘निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा एमाले केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने माग गर्दछ,’ पारित भएको प्रस्तावमा भनिएको छ।
Press-statement-CC-Meeting-Ashoj-31-1760760509








प्रतिकृया दिनुहोस्