तिहारमा फूलमाला विक्रीका लागि बुटवलमा ११ स्थान तोकिए


बुटवल– बुटवल उपमहानगरपालिकाले तिहार लक्षित गरेर उपभोक्तालाई सहज तुल्याउन पालिकाका विभिन्न ११ स्थानबाट फूलमाला विक्री गरिने जनाएको छ । बुटवलका फूल उत्पादक कृषकसँग उपमहानगरले गरेको छलफलबाट पालिकाभित्र उत्पादित फूलका माला विक्रीका लागि स्थान तोकिएको हो ।
उपमहानगरका कृषि अधिकृत सन्तोष जीसीले प्लाष्टिकजन्य मालाले मानव स्वास्थ्यमा असर गर्ने र वातावरण प्रदूषण हुने भएकाले उपमहानगरपालिका क्षेत्रभित्र यसको प्रयोगलाई निरूत्साहित गरी स्थानीय फूल तथा मालाको प्रयोग बढाउने उद्देश्यले विभिन्न स्थान तोकेको जानकारी दिए ।
दीपावली तथा छठ पर्वमा बुटवलमा ५०–६० हजार माला खपत हुने उनले जनाए । अहिले स्थानीय क्षेत्रमा उत्पादित फूलबाट उनेका करिब ११ हजार माला मौज्दात रहेको जिसीले जानकारी दिए । उपमहानगरले बुटवलका ट्राफिक चोकको दूवैतर्फ, वीपी चोक, अस्पताललाइन, तीनकुने, सुख्खानगर, राजमार्ग चौराह, होराइजन चोक, देवीनगर चौपारी, गोलपार्क, बेलवास लगायतका ठाउँबाट माला विक्री गरिने जनाएको छ ।
स्थानीय एवं स्वदेशी फूल माला विक्रीका लागि नगरका प्रमुख स्थान तोकिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । यसले उपमहानगरपालिका क्षेत्रमा फूल तथा माला उत्पादक तथा व्यवसायीलाई बल पुग्नुकासाथै उत्साह बढ्ने नगर प्रमुख पाण्डेयले विश्वास व्यक्त गरे । बुटवल ११, १५, १६ र १७ को करिव दुई बिघा क्षेत्रफल जग्गामा व्यवसायिक रूपमा फूल खेती हुने गरेको छ ।








प्रतिकृया दिनुहोस्