लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आशा पलाएको छः मुख्यमन्त्री आचार्य


बाँके– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् ।
आइतबार विश्वविद्यालयको सातौं सभामा बोल्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । मुख्यमन्त्री आचार्यले पछिल्ला ६–७ महिनामा गरिएको मिहिनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने जनाए । ‘प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,’, उनले भने, ‘विश्वविद्यालयलाई जनस्तर सम्म पुर्याउन सबैले मिलेर काम गर्नुपर्छ ।’
उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए । ‘यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ’, उनले भने, ‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’
सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२–०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।








प्रतिकृया दिनुहोस्